न्युयोर्क(संयुक्त राज्य अमेरिका), ७ असोज(बीबीसी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानमाथि पुनः आक्रमण गर्ने वा शान्ति सम्झौतातर्फ अघि बढ्ने भन्ने विषयमा आफू “ठूलो निर्णय” को मोडमा रहेको बताउनुभएको छ ।
न्युयोर्कमा मंगलबार आयोजित महासभामा राष्ट्रपतिको सम्बोधनका क्रममा इरानी प्रतिनिधिमण्डलका एक जना सदस्यले अवलोकन गरिरहनुभएको थियो। उक्त सम्बोधनमा ट्रम्पले यदि द्वन्द्वको समाधान भएन भने आफूले इस्लामिक गणतन्त्र इरानलाई “नष्ट” गर्न सक्ने चेतावनी दिनुभएको छ।
दर्शकहरूले भरिभराउ सभा हलमा ट्रम्पले “विश्वव्यापी सरकार” (ग्लोबल गभर्नमेन्ट) को अवधारणालाई अस्वीकार गर्दै रुस र युक्रेनबिच शान्ति कायम गराउने तथा आर्टिफिसियल इन्टेलिजन्सको प्रतिस्पर्धामा अमेरिकाको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँको यो टिप्पणी उच्चस्तरीय कूटनीतिकै दिन आएको हो, जसमा अमेरिकी र इरानी प्रतिनिधिहरूबिच भएका छलफलहरू समेत सामेल छन्।
राष्ट्रसंघमा ट्रम्पको सम्बोधन
मध्यपूर्व र युक्रेनमा जारी युद्धले ट्रम्पको विदेश नीति एजेन्डाको परीक्षण गरिरहेका बेला उहाँ स्वयंले एक दर्जनभन्दा बढी विश्व नेताहरूसँग भेटघाट गरिरहनुभएको छ।
उहाँले संयुक्त राष्ट्रसंघको आफ्नो सम्बोधनको सुरुवात अर्थव्यवस्था, अध्यागमन, सीमा सुरक्षा र हिंस्रक अपराध नियन्त्रणमा आफ्ना उपलब्धिहरूको बखान गर्नुभयो। उहाँको भनाइ म्यानहटनका कूटनीतिज्ञहरूभन्दा पनि आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यवधि निर्वाचनका मतदाताहरूतर्फ बढी लक्षित देखिन्थ्यो।
उहाँले आफ्नो सम्बोधनको ठूलो हिस्सा इरानसँगको युद्धको औचित्य पुष्टि गर्न खर्च गर्नुभयो। गत फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेयता यो युद्धले विश्वव्यापी तेलको मूल्य बढाएको छ भने ट्रम्पको लोकप्रियताको रेटिङमा गिरावट ल्याएको छ।
ट्रम्पको यो शैली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अघिल्लो भनाइसँग बिल्कुलै फरक थियो, जसले विश्वव्यापी विभाजन गहिरिँदै गएको चेतावनी दिँदै विश्वका जनताहरूबिचको “पारस्परिक निर्भरता” माथि जोड दिनुभएको थियो ।ं
ट्रम्पले यो द्वन्द्वले तेहरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोकेको र आफूले भन्ने गरेको “शक्तिका माध्यमबाट शान्ति” (सम्झौता वा सम्झौताहीनताभन्दा पनि अन्तिम चेतावनी) को महत्त्व साबित गरेको तर्क गर्नुभयो।
“के इरानसँग यस्तो सम्झौता हुनेछ जसले उनीहरूलाई पुनर्निर्माण गर्न र पहिलेको भन्दा अझ ठूलो देश बनाउन अनुमति दिनेछ?” उहाँले भन्नुभयो ।
“कि म इस्लामिक गणतन्त्रलाई नष्ट गरिदिऊँ र त्यो पनि छिट्टै गरूँ, जसले गर्दा उनीहरूलाई फेरि कहिल्यै मानिसहरू र देशहरूलाई मार्ने वा विनाश गर्ने मौका नमिल्ला? के म उनीहरूलाई नर्कमा पठाइदिऊँ?”
अहिलेसम्म हुन नसकेको इरान सम्झौता नोभेम्बरको निर्वाचनलगत्तै हुने आफ्नो विश्वास रहेको ट्रम्पले बताउनुभयो।
उहाँका यी भनाइहरू उहाँको दबाबमूलक कूटनीतिका विदेश नीति रणनीतिका सूचक थिए, जसमा ठूलो सैन्य बलको धम्की दिँदै वार्ताको ढोका पनि खुला राखिन्छ।
ट्रम्पले पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले महासभाको पार्श्वमा इरानी प्रतिनिधिमण्डलसँग तीन घण्टा लामो “अत्यन्तै फलदायी” बैठक गरेको बताए।
इरानको सरकारी टिभीले पनि विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेट गरेको पुष्टि गरेको छ, यद्यपि तेहरानका अधिकारीहरूबाट यसबारे कुनै औपचारिक टिप्पणी आएको छैन।
बीबीसीले राष्ट्रसंघको भवनबाट बाहिरिँदै गर्दा विटकफलाई बैठक कस्तो भयो भनी सोध्दा उनले ‘थम्ब्स अप’ (अङ्गुठा उठाएर) राम्रो भइरहेको इसारा गर्नुभयो।
उहाँले पछि वार्ताहरू “दिनभर दुवै पक्षबिच आउजाउ गरिरहेका मध्यस्थकर्ताहरूमार्फत” आयोजित भएको पुष्टि गर्नुभयो।
“उनीहरूले छलफलको एक चरण सफलतापूर्वक पूरा गरेका छन्, जुन रचनात्मक र आशाजनक साबित हुनेछ भन्ने हामीले आशा लिएका छौँ,” विटकफले एक्समा पोस्ट गर्दै लेख्नुभयो, “मध्यस्थकर्ताहरूले आफ्नो काम जारी राख्नेछन्।”
सुपर इन्टेलिजन्स र अन्य विषयहरू
आफ्नो भाषणमा ट्रम्पले पुनः एकपटक आफ्नो कूटनीतिले रुस(युक्रेन युद्ध अन्त्य गर्ने भविष्यवाणी गर्नुभयो। दुवै पक्षले एकअर्काको भूभागमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेकाले यो युद्ध रोकिने कुनै संकेत देखिएको छैन।
“हामी रुस र युक्रेनका नेताहरूसँग धेरै नजिकबाट काम गरिरहेका छौँ, र हामी यसलाई टुङ्गोमा पुर्याउनेछौं,” उहाँले भन्नुभयो “मानिसहरूले सोचेभन्दा धेरै छिटो यो हुनेछ भन्ने मलाई लाग्छ।”
ट्रम्पले एआई सम्बन्धी डरलाई कम आँक्दै डर वा प्रविधिलाई नियन्त्रण गर्ने “ग्लोबलिस्ट योजना” का कारण अमेरिकाले चीनसामु आफ्नो नेतृत्व नत्याग्ने प्रतिबद्धता जनाउनुभयो ।
अमेरिकी राष्ट्रपतिले आर्टिफिसियल इन्टेलिजन्सलाई यसको सट्टा “सुपर इन्टेलिजन्स” को रूपमा चिनिनुपर्ने तर्क गरे।
“‘आर्टिफिसियल’ शब्दको प्रयोगले यसलाई नक्कली जस्तो बनाउँछ,” उहाँले भन्नुभयो, “यो नक्कली होइन, यो वास्तवमै अद्भुत छ। तर हामी सचेत हुनुपर्छ।”
महासभाको पार्श्वमा मंगलबार ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डका नेताहरूसँग उत्तर एटलान्टिक टापुमा अमेरिकी सैन्य उपस्थिति बढाउने सम्झौतामा हस्ताक्षर गरे।
यो सम्झौताले डेनमार्कको एक स्वायत्त क्षेत्र ग्रिनल्यान्डको सार्वभौमसत्तालाई पुनः पुष्टि गर्दछ, तर अमेरिकालाई टापुको हवाई क्षेत्र र भूभागमा व्यापक पहुँच प्रदान गर्दछ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामका साथै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन र ओमानका नेताहरूसँग पनि भेटघाट गरेका छन्।
अन्य अरब र इस्लामिक देशका नेताहरू समेत सहभागी यो पछिल्लो बैठकमा “हालैका क्षेत्रीय घटनाक्रम र मध्यपूर्वको स्थिति तथा सुरक्षा र स्थिरता सुदृढ गर्ने उपायहरूबारे छलफल भएको” युएईका विदेशमन्त्रीले एक विज्ञप्तिमा बताउनुभएको छ ।
यसअघि, गुटेरेसले संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा आफ्नो बिदाई भाषण दिँदै नाम नलिएका महाशक्तिहरूलाई “आफ्नो शक्ति त्यति विघ्न सुपर छैन” भनेर स्वीकार गर्न आग्रह गर्नुभएको थियो।
“हाम्रो विश्वका विभाजन रेखाहरू फराकिलो हुँदैछन्,” भूराजनीतिक प्रतिस्पर्धा, युद्ध, जलवायु परिवर्तन र आर्टिफिसियल इन्टेलिजन्सको उदाहरण दिँदै गुटेरेसले भन्नुभयो ।
यसको विपरीत, ट्रम्पले अन्तर्राष्ट्रिय संस्थाहरूको आलोचना गर्दै संयुक्त राष्ट्रसंघलाई “कसैले निर्वाचित नगरेका विश्वव्यापी नोकरशाहहरूको कट्टरपन्थी(वामपन्थी एजेन्डा” को आरोप लगाउनुभयो ।
अमेरिकी राष्ट्रपतिले यसको सट्टा राष्ट्रिय सार्वभौमसत्ता र “अतुलनीय” अमेरिकी सैन्य शक्तिमा जोड दिनुभयो ।
“यहाँ कुनै विश्वव्यापी सरकार छैन,” उहाँले भन्नुभयो।
उहाँले पश्चिमी गोलार्धमा जहाँसुकै पनि खतराहरू स्थापित हुन अमेरिकाले नदिने चेतावनी दिनुभयो।
“आवश्यक परेमा, हामी संयुक्त राज्य अमेरिकाको महत्त्वपूर्ण राष्ट्रियहितको रक्षा गर्न हाम्रो अतुलनीय सैन्य शक्तिको प्रयोग गर्नेछौँ,” उहाँले भन्नुभयो।
ट्रम्पले क्युबाको कम्युनिस्ट सरकारलाई कम्युनिस्ट पार्टी युएसए, एन्टिफा र डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका लगायतका अमेरिकाका वामपन्थी समूहहरूसँग सम्बन्ध बढाएको आरोप लगाउनुभयो।
ट्रम्पले क्युबाली टापुलाई “असफल राज्य” को रूपमा सम्बोधन गरेपछि क्युबाली प्रतिनिधिमण्डल पनि सभा हलबाट बाहिरिएको देखिन्थ्यो।








