Prakash Adhikari September 25, 2026

 

काठमाडौं, ९ असोज । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ।

सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।

सम्झौताअनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी ३ अर्ब रुपैयाँ घलेम्ली हाइड्रो लिमिटेडलगायत अन्य संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ।

सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्।

त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्। भदौ १० को भोटेकोशी प्रलयपछि वित्तीय व्यवस्थापन भएको छुजुङ संभवत पहिलो जलविद्युत आयोजना हो।

९ अर्ब ऋण र ३ अर्ब इक्विटी

आयोजनाको कूल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको इक्विटीबाट लगानी जुटाइएको छ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। प्रति मेगावाट लागतको हिसावले आयोजना सस्तो देखिएको छ। आयोजना ४ घण्टा अर्ध–जलाशययुक्त प्रकृतिको हुने भएको छ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ। आयोजनास्थल याक खर्कमा हेलिकोप्टरबाट निर्माण सामाग्री ढुवानी गरि खन्ने काम भइरहेको छ। आयोजनाको विद्युतगृह भूमिगत हुने प्रस्ताव गरिएको छ।

आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। त्यस्तै, सञ्चालनको नवौं वर्षमा पुग्दा वार्षिक आम्दानी बढेर करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। विद्युत प्राधिकरणबाट आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ।

आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत हुने भएको छ। आरओई र आइआरआर दुई वित्तीय सूचक हेर्दा आयोजना वित्तीय रुपमा आकर्षक देखिनुका साथै लगानीकर्तालाई राम्रो प्रतिफल दिनेछ।

त्यस्तै, आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष हुने प्रक्षेपण गरिएको छ।

घलेम्दी हाइड्रोको १ अर्ब १० करोड लगानी

आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ।

घलेम्दीले म्याग्दीको अन्नपूर्ण नरच्याङमा ५ मेगावटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सांग्रिला ऊर्जाले प्रवर्द्धन गर्ने आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लगानी जुटेसँगै निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको छ।

छुजुङ खोला जलविद्युत आयोजना संखुवासभाको भोटखोला क्षेत्रमा निर्माण हुने भएकाले आयोजना सञ्चालनमा आएपछि यस क्षेत्रको विद्युत उत्पादन तथा राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजनाको विद्युतगृहबाट ५५ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेशनमा बिजुली समाहित हुने भएको छ। आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन बनाउनु पर्ने भएको छ।

सांग्रिला ऊर्जाले उक्त नदी करिडोरमा निर्माण हुन लागेका आधा दर्जन जलविद्युत आयोजनाको साझेदारीमा उक्त प्रसारण लाइन साझेदारीमा बनाउन सम्झौता गरेको छ। करिडोरमा अन्य आयोजना पनि थपिने भएकाले लागत अझ कम हुने कम्पनीले जनाएको छ।

यस्तै आयोजना बनाउन आवश्यक रुख कटानको काम सकिएको छ। एक रुख काटिएपछि १० रुख रोप्नु पर्ने नीतिअनुसार आयोजनाले रुख रोप्न र संरक्षण गर्न वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरेको छ। हाल आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग सम्पन्न गरेको छ। यस्तै आयोजनाका लागि आवश्यक क्याम्प निर्माण पनि सम्पन्न गरेको छ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताउनुभयो।

‘यो आयोजना समयमै, कुनै अवरोधविना सञ्चालनमा आउनुपर्छ। बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन। प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ,’ कोइरालाले भन्नुभयो।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले आयोजनाका प्रवर्द्धकले अनुभवी र सहयोगी बैंकहरूको कन्सोर्टियम पाएको बताउनुभयो। आफ्नो पहिलो जलविद्युत आयोजनामासमेत माछापुच्छ्रे बैंकले लगानी गरेको स्मरण गर्दै उनले बैंकको सहयोगका कारण आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको बताउनुभयो।

‘मेरो पहिलो जलविद्युत आयोजना ७.५ मेगावाटको थियो। त्यसमा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको थियो। हामीले तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ। तर, बैंकको सहयोगका कारण २२ महिनामै सम्पन्न गर्न सफल भयौँ,’ डाँगीले भन्नुभयो ।

उहाँले छुजुङ खोला आयोजनाका प्रवर्द्धक अनुभवी रहेकाले आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । ‘तपाईंहरू पहिल्यै सफलतापूर्वक आयोजना निर्माण गरेर आउनुभएको अनुभवी टिम हुनुहुन्छ। विकट भूगोलमा काम गरिसक्नुभएको छ। त्यसैले ६३ मेगावाटको छुजुङ खोला तोकिएकै समयमा सम्पन्न हुनेमा इप्पान विश्वस्त छ,’ डाँगीले भन्नुभयो।

आयोजना निर्माणमा समयको विशेष महत्व हुने भन्दै उहाँले ढिलाइ हुँदा निर्माण अवधिको ब्याज बढ्ने र आयोजनाको वित्तीय अवस्था प्रभावित हुन सक्ने बताउनुभयो।

‘प्रोजेक्ट कति राम्रो र नाफामूलक बनाउने भन्ने कुरा निर्माण सम्पन्न हुने समयसँग जोडिएको हुन्छ। समयमै निर्माण सम्पन्न भएन भने निर्माण अवधिको ब्याज बढ्छ र आयोजना कमजोर हुन्छ। तपाईंहरूजस्तो अनुभवी नेतृत्वले समयमै आयोजना सम्पन्न गरेर देशको ऊर्जा सुरक्षामा योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास छ,’डाँगीले भन्नुभयो।

सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण तुलनात्मक रूपमा कम लागत र छोटो समयमा आयोजना निर्माण गर्न सकिने बताउनुभयो।

उहाँका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताका आधारमा अत्यधिक ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था छैन।

‘आयोजनाको हेड ९०० मिटरभन्दा बढी भएकाले क्षमताअनुसार ठूला संरचना बनाउनुपर्ने अवस्था छैन। त्यसैले कम लागत र छोटो समयमै आयोजना सम्पन्न गर्न सक्ने अवस्था छ,’ सुवेदीले भन्नुभयो।

उहाँले आयोजनाको क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेकाले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव बढ्ने र यसले हाइड्रोलोजिकल जोखिम कम गर्ने दाबी गर्नुभयो ।

‘हामीलाई विश्वास गरेर लगानी गर्ने माछापुच्छ्रे बैंकसहित सबै बैंक तथा लगानीकर्ताको भरोसा पूर्ण रूपमा कायम राख्नेछौँ,’ उहाँले भन्नुभयो।

सांग्रिलाका प्रवन्ध निर्देशक पुष्कर पौडेलले अर्धजलासय आयोजनाले सुक्खायाममा पनि दैनिक चार घण्टा ६३ मेगावाट बिजुली उत्पादन गर्ने जानकारी दिनुभयो। यो मुलुकको ऊर्जा सुरक्षालाई ध्यानमा राखेर सुक्खामा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा चल्ने गरि आयोजनाको डिजाइन गरेको उहाँले बताउनुभयो।

आयोजना नदी भन्दा ४५ मिटर माथि भएकाले भोटेकोसीमा आएको जस्तो प्रलयले आयोजनामा क्षतिको जोखिम नभएको पौडेलले स्पष्ट पार्नुभयो। नदीमा सेडिमेन्ट ज्यादै न्यून भएको र हिमपहिरोको जोखिम नभएको प्रवन्ध निर्देशक पौडेलले बताउनुभयो।

१७१ मेगावाटको जलाशय आयोजना बनाउँदै

सांग्रिलाल ऊर्जाले १ सय ७१ मेगावाटको जलासय (स्टोरेज) जलविद्युत आयोजना अघि बढाउन लागेको छ। कम्पनीले बाजुरा जिल्लाको विछ्यामा छिम्दी कवाडी खोला जलविद्युत आयोजना बनाउन लागेको हो।

हाल आयोजनाको संभाव्यता अध्ययन भइरहेको प्रवन्ध निर्देशक पौडलले जानकारी दिनुभयो। उहाँले आयोजना अध्ययनको क्रमममा रहेको बताउनुभएको छ।

 

Share Now