Prakash Adhikari September 26, 2026

 

नागोया(जापान), १० असोज । २०औं एशियाली खेलकूद अन्तरगतको पुरुष क्रिकेटमा जापान र नेपालबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो । करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।खेलमा सन्दीप जोराले ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए ।

जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले १(१ विकेट लिए ।

नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको थियो र पिचलाई कभरले ढाकिएको थियो । वर्षाकै कारण दोस्रो इनिङ सुरु हुनै सकेन ।

यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो ।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ ।

Share Now