Prakash Adhikari October 26, 2018

क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका),९कार्तिक  (बीबीसी) । कार्यस्थलमा अनुचित व्यवहारका विरुद्ध गुगलले कडा नीति अख्तियार गरेको बताएको छ।
गुगलले पछिल्लो दुई वर्षमा यौन दुर्व्यवहारको आरोपमा १३ जना वरिष्ठ व्यवस्थापकसहित ४८ जना कर्मचारीहरूलाई बर्खास्त गरेको जनाएको छ।

कर्मचारीहरूलाई एक पत्र लेख्दै गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले अनुचित व्यवहारका विरुद्ध सो कम्पनीले कडा नीति अख्तियार गरेको बताएका छन्।

हालै न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा एन्ड्रोइड सफ्टवेयरका निर्माता एन्डी रुबीनले दुर्व्यवहारका आरोप खेपेपनि उनलाई कम्पनीबाट निकाल्ने बेला गुगलले ९ करोड डलर बराबरको प्याकेज दिएको उल्लेख भएपछि पिचाइले सो पत्र लेखेका हुन्।

ढाकछोप

विगत एक दशकमा गुगलले रुबीनसहित अन्य दुई व्यवस्थापकहरू विरुद्ध यौन दुर्व्यवहारको आक्षेपको ढाकछोप गर्दै आएको पत्रिकाले जनाएको छ।

रुबीनका एक प्रवक्ताले भने ती आरोपको खण्डन गरेका छन्।

स्याम सिंगर तथा रुबीनले सन् २०१४ मा गुगल छाडेर प्लेग्राउन्ड नामक एक भेन्चर क्यापिटल कम्पनी खडा गरेका थिए।

गुगल छाड्ने बेला उनलाई नायकको जस्तो बिदाइ गरिएको सो समाचारमा उल्लेख छ।

पिचाइले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको सो समाचार पढ्न गाह्रो भएको भन्दै सुरक्षित तथा समावेशी कार्यस्थल सुनिश्चित गर्न गुगल अत्यन्त गम्भीर भएको बताएका छन्।

उनले गत दुई वर्ष यता निकालिएका कर्मचारीमध्ये कसैले पनि बिदाइ प्याकेज नपाएको बताएका छन्।

 

Share Now

Leave a comment.