काठमाडौँ, २२ असोजः राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो ।
बाढीबाट विद्युत्गृह डुबानमा पर्नुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) आजदेखि सञ्चालनमा ल्याइएको हो ।
आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरेको थियो । यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो ।
विद्युत्गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताउनुभयो । “बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ, अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ”, प्रबन्ध–सञ्चालक केसीले भन्नुभयो ।
राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुईवटा युनिट रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।