काठमाडौं, ३० असोज । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले औपचारिक मान्यता दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१)सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गर्ने एनपीएलको तेस्रो संस्करणलाई आईसीसीले मान्यता दिएको हो।
क्यानका सचिव पारस खड्काले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करणले आईसीसीको औपचारिक मान्यता प्राप्त गरेको जानकारी दिएका हुन्।
आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारसँगै नेपालको घरेलु क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास क्यानले लिएको छ।
क्यानले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न निरन्तर सहयोग, समर्थन र सहकार्य गरेकोमा आईसीसीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।







