Prakash Adhikari October 18, 2026
पेरिस, १ कात्तिक (रासस/एएफपी): फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा १ हजार ८ सय भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताउनुभएको छ ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।
सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताउनुभयो । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।
पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममायी घटना भएका हुन्।
यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए ।
गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटका लागि ‘हजारौँ अति–वामपन्थी’व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।
उहाँका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएका छन्।
प्रदर्शनका क्रममा करिब ५ सय प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिनुभयो । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो ।
फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरूका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने सङ्केत गर्नुभएको छ ।
फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा  सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ ।
गृह मन्त्रालयका अनुसार प्रदर्शनमा ५ लाख ५० हजार मानिस सहभागी भएका थिए । श्रमिक सङ्गठन सीजीटीले भने ८ लाख मानिसले सहभागिता जनाएको दाबी गरेको छ । मास्क लगाएका युवाहरूले पेरिससहित मार्सेइ, बोर्डो, लिल र अन्य सहरमा पसल लुट्नुका साथै गाडी र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेका थिए । लिमोजमा १४० वर्षभन्दा पुरानो भवनमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाको निन्दा गर्नुभएको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्ने बताउनुभएको छ ।
आगामी राष्ट्रपति निर्वाचनको तयारी भइरहेका बेला महँगी, राजनीतिक असन्तुष्टि र विद्यार्थी आन्दोलनले अशान्ति थप चर्काएको छ । मध्यपूर्वको युद्धले युरोपमा मुद्रास्फीति बढाउन योगदान गरेको प्रदर्शनकारीहरूको भनाइ छ । आठ वर्षअघि इन्धन कर वृद्धिविरुद्ध आन्दोलन गरेको ‘यल्लो भेस्ट’ समूहले यसपटक ‘यल्लो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो ।
राष्ट्रपति निर्वाचनका प्रतिस्पर्धी नेतृ मरिन ले पेनले हिंसाको निन्दा गर्दै अति वामपन्थी नेता जिन–लुक मेलेनचोनको दलले हिंसालाई वैधता दिएको आरोप लगाउनुभएको छ । प्रदर्शनलाई समर्थन गर्दै आउनुभएका मेलेनचोनले भने लुटपाट आफ्नो आन्दोलनको विधिविपरीत भएको बताउँदै त्यसबाट टाढा रहन आग्रह गर्नुभएको छ ।
पेरिसमा प्रदर्शनकारीले म्याक्रोनको राजीनामा माग्दै नारा लगाएका थिए । केहीले सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग वर्तमान आन्दोलनको तुलना गरेका छन् । विद्यार्थी प्रतिनिधि निकायका प्रमुख रियाद रानीले सरकार दबाबमा परेको बताउँदै असन्तुष्ट फ्रान्सेली जनता आफ्ना मागबाट पछि नहट्ने धारणा व्यक्त गर्नुभएको छ ।
Share Now