Prakash Adhikari October 22, 2026
काठमाडौँ, ५ कात्तिकः बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् ।
दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए । महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । सशस्त्र प्रहरीले गत सोमबारदेखि दुई वटा बसमार्फत सञ्चालन गरेको सेवा भोलि शुक्रबारसम्म जारी रहने जनाएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मङ्गलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन एक हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए ।
सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै आज पनि सेवा जारी रहेको बताउनुभयो ।
  दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई बिनाशुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले केही वर्षदेखि सञ्चालन हुँदै आएको दुई प्रहरी सङ्गठनको निःशुल्क बस सेवाबाट नागरिक लाभान्वित भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्नेक्रम रोकिएको आमसर्वसाधारणको भनाइ छ ।
—
Share Now