Prakash Adhikari October 23, 2026
काठमाडौँ, ५ कात्तिकः पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो ।
“पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तरराष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी–२० अन्तरराष्ट्रियमा उनको नाममा सात विकेट पनि छ ।
घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ । अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन् ।
हुसेनले पाकिस्तान सुपर लिग (पिएसएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन् । अब उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि जोडिँदै छन् ।

म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

उनले आफ्नो अन्तरराष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन् ।

बलिङतर्फ उनले टेष्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इण्डियन प्रिमियर लिग (आइपिएल) र लङ्का प्रिमियर लिग (एलपिएल) पनि खेलिसकेका छन् ।

यस्तै, दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन् । लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।

शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन् ।

तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

Share Now