मनाङ, ६ कात्तिकः मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।
हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो ।
दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो ।
सडकखण्डको केही ठाउँमा आधार संरचना पनि क्षतिग्रस्त भएको अवस्थमामा मर्मतसम्भारपछि बेँसीसहरदेखि चामेसम्मको प्रभावित यातायात सेवा सञ्चालन गर्न सकिएको बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्पछि कम्पनीले तत्काल उपकरण र जनशक्ति परिचालन गरी क्षतिग्रस्त सडकखण्ड मर्मत तथा पुनःस्थापनाको काम थालेको हो ।
“अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर–चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ,” प्रधानले भन्नुभयो, “चामेनजिक रहेको एक खोलामा गेग्रानसहित आएको बाढीपहिरोले मुख्य नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो । सरकारसँग सहकार्य गर्दै कम्पनीका तर्फबाट एक्स्काभेटरलगायतका उपकरण परिचालन गरी उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक डिजेल र अन्य सामग्री पनि उपलब्ध गराएर सडक सञ्चालनमा ल्याउन सकिएको हो ।”
सो सडकखण्डको मर्मतसम्भार तथा आपत्कालीन पुनःस्थापनाका लागि यसअघि पनि विभिन्न उपकरण र जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ । उक्त सडक सञ्चालन भएसँगै मनाङका १३ गाउँका करिब पाँच हजार ६०० नागरिक लाभान्वित भएका छन् ।