Prakash Adhikari November 5, 2026

काठमाडौं, १९ कार्तिक। अस्ट्रेलियाका स्टार क्रिकेटर डेविड वार्नरले सगरमाथाको आधार शिविर पुग्नुभएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउनुभएका वार्नरले हेलिकोप्टरबाट सगरमाथा क्षेत्रको भ्रमण गरेपछि त्यहाँको दृश्य समेटिएको भिडिओ आफ्ना करोडौं प्रशंसकमाझ सार्वजनिक गर्नुभएको छ।

१ करोड ३ लाखभन्दा बढी फलोअर रहेको आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा बुधबार साँझ भिडिओ सार्वजनिक गर्दै वार्नरले सगरमाथालाई आफ्नै आँखाले देख्न पाउनु जीवनकै अविस्मरणीय अनुभवमध्ये एक भएको बताउनुभयो।

“शब्दमा वर्णन गर्नै सकिँदैन। आफ्नै आँखाले सगरमाथा देख्न पाउनु साह्रै अकल्पनीय अनुभव रह्यो”, उहाँले लेख्नुभएको छ,”तस्बिर र भिडिओले यसको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन्। यो संसार कति विशाल र अद्भुत छ भन्ने आभास गराउने पलहरूमध्ये यो एक हो।”

३९ वर्षीय वार्नर काठमाडौं गोर्खाजबाट एनपीएल खेल्न आइतबार साँझ काठमाडौं आउनुभएको थियो। कर्णाली याक्सविरुद्धको खेलमा डेब्यु गर्नुभएका उहाँले १० बलमा ३ चौकासहित १६ रन बनाउनुभयो।उहाँलेअरिफुल इस्लामले प्रहार गरेको बल क्याच गर्दै अर्धशतक पूरा गर्नबाट रोक्नुभयो।

नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले सगरमाथालाई आफ्नो क्रिकेट करिअरका चुनौतीपूर्ण प्रतिस्पर्धीहरूसँग तुलना गर्दै रमाइलो टिप्पणीसमेत गर्नुभएको छ।

“मैले आफ्नो खेल जीवनमा धेरै डरलाग्दा तीव्र गतिका बलरहरूको सामना गरेको छु, तर मलाई लाग्छ सगरमाथा त्योभन्दा अझ कठिन प्रतिस्पर्धी हो”, उहाँले लेख्नुभएको छ।

समुद्री सतहबाट करिब १९ हजार फिट उचाइमा पुग्दाको अनुभव सुनाउँदै वार्नरले त्यहाँ अत्यधिक चिसो रहेको र बिस्तारै हिँड्न सल्लाह दिइएको बताउनुभएको छ। “यहाँ एकदमै धेरै चिसो छ, तर यो बिल्कुलै अर्को स्तरको अनुभव हो”, वार्नरले भन्नुभएको छ।

नेपाल यहाँको प्राकृतिक सुन्दरता मात्र नभई मानिसहरूको सरलता र व्यवहारका कारण पनि आफ्नो मनमा विशेष छाप छोड्ने देश भएको उहाँको भनाइ छ ।

Share Now