Prakash Adhikari November 6, 2026

सांघाई(चीन), २० कार्तिक । चीनको सांघाईमा भईरहेको यू–१९ महिला बेल्ट एन्ड रोड क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई ५२ रनले पराजित गरेको छ।

नेपालले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.२ ओभरमा ४८ रनमा अलआउट भयो। थाइल्यान्डका लागि टि सिसावानले सर्वाधिक ११ तथा पी सोर्नथाले १० रन बनाइन्।

थाइल्याण्डलाई रोक्ने क्रममा नेपालकी सोनी पाख्रिनले २ ओभरमा ४ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। रिया शर्माले ४ ओभरमा ६ रन खर्चेर तथा मनिषा कुमारी उपाध्यायले ३.२ ओभरमा ५ रन खर्चेर समान २। २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय रन बनाएको थियो। नेपालका लागि सोनी पाख्रिनले ४७ बलमा ३२ तथा सना प्रविनले २३ बलमा २५ रन बनाइन्।

एन्जिला पाठकले १७ बलमा १३ रनको जोडिन्।

नेपाललाई रोक्ने क्रममा थाइल्यान्डका खोंगडी, सोर्नथा र सुरियाले समान १ विकेट लिए।

सिरिजमा नेपालको यो तेस्रो जित हो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले हराएको थियो। नेपाल र चीनबीचको खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपालले हङकङ चाइनालाई ९२ रनले हराएको थियो।

Share Now