Prakash Adhikari November 12, 2026
काठमाडौँ, २६ कात्तिकः आज बिहान मकवानपुर जिल्लाको भीमफेदीमा भएको ईभी दुर्घटनाप्रति रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःखः व्यक्त गर्नुभएको छ । उहाँहरुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना र मृतकहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ ।
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ । यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
सभापति लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।”
उहाँले घाइतेको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
दुर्घटनाले मर्माहत बनाएको छः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति थापाले आज शोक बक्तव्यमार्फत काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको  बताउनुभएको छ ।
उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । सभापति थापाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनलाई उक्त असह्य पीडा सहनसक्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत आज बिहान चिसापानी गढीमा माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको र अन्यको पहिचानको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठपर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले दुर्घटनामा परी दिवङ्गत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
पीडितपरिवारको अभिभावकत्व ग्रहण गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले आज विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकारलाई सुझाव दिएको छ । आगामी दिनमा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेमा रास्वपा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । काठमाडौँबाट सर्लाही जाँदै गरेको माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।
–––
–––
Share Now