Prakash Adhikari November 13, 2026

कीर्तिपुर(काठमाडौं), २७ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को २५ औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । यो पराजयसंगै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स यो संस्करणको प्ले अफ दौडबाट बाहिरिएको छ। जनकपुर यसरी बाहिरिएको यो दोस्रो पटक हो।

जनकपुरलाई पराजित गरेको चितवन राइनोजले भने नेपाल प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ। आजको नतिजापछि चितवन शीर्ष चारमा उक्लेको छ। हालसम्मका ६ खेलमा ३ जित, २ हार र एकमा अंक बाँडेको चितवन ७ अंक सहित अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

चितवनसँगको हारले पहिलो सिजनको विजेता जनकपुर प्लेअफ दौडबाट बाहिरिएको छ। चितवनको जितसँगै कर्णाली याक्स पनि प्ले अफ दौडबाट बाहिरिएको छ भने विराटनगर पाँचौ स्थानमा झरेको छ ।

लिग चरणका सबै सात खेल खेल्दा २ मा जित र ५ मा हार व्यहोरेको जनकपुरले ४ अंक मात्र हासिल गर्न सक्यो। एनपीएलको यो संस्करणमा जनकपुर प्लेअफ दौडबाट बाहिरिने दोस्रो टोली बन्यो। यसअघि पोखरा एभेन्जर्स यस्तो बाटो तताएको थियो।

आजको खेलमा जनकपुरले दिएको ८९ रनको झिनो लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेटको नोक्सानीमा हासिल गरेको थियो ।

चितवनका लागि डविड मलानले सर्वाधिक ३५ रन बनाए भने कुशल मल्लले १५ रन । चितवनका रवि बोपाराले १३ र कामिल मिसाराले १२ रथ थपे।

चितवनलाई रोक्ने क्रममा जनकपुरका लागि राहुल यादवले ३ , ललित राजवंशीले २ तथा विशाल सुस्लिङले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८८ बनाएको थियो।

जनकपुरका लागि कप्तान हरमित सिंहले २५, विशाल सुस्लिङ १५,ओपनर सन्तोष कार्की १० र तृतराज दास ५ रन बनाए । त्यस्तै रायन बर्लले ६, आदित्य महता ४, अविशेष तिवारी ४ रनमा आउट भए। ह्यारी टेक्टर र जिम्मी निसम खाता नखोली पेभेलियन फर्के।

जनकपुरलाई रोक्ने क्रममा चितवनका रन्जित कुमारले ३ विकेट लिए भने
सिकन्दर राजा र कमिल मिसारा २ ।२ विकेट तथा रिजन ढकाल र कमल ऐरीले १। १ विकेट लिए।

आजको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफको लागि छनोट भएको छ। सुदूरपश्चिम १० अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एनपीएलमा भोलि एक मात्र खेल हुनेछ। साँझ ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्नेछन्।

Share Now