Prakash Adhikari November 17, 2026

सुनसरी , १ मंसिर  । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपमा त्रिभुवन आर्मी क्लबले गोलको वर्षा गरेको छ।

सोमबार राति धरान–१६ स्थित रंगशालामा भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

आर्मीको सानदार जितमा दीपा शाहीले ४ गोल गरिन् भने जेनिफर रानाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै, विमला चौधरी र तुलसा बोहराले समान १ गोल थपिन्।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो। खेलको पहिलो मिनेटमै दीपाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। त्यसपछि दोस्रो, पाँचौँ, २३औँ र ३८औँ मिनेटमा गोल गर्दै उनले व्यक्तिगत चार गोल पूरा गरिन्।

विमलाले १६औँ मिनेटमा गोल गरिन्। जेनिफरले १९औँ र ३३औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता फराकिलो बनाइन्। दोस्रो हाफको ३०औँ मिनेटमा थप एक गोल गर्दै जेनिफरले ह्याट्रिक पूरा गरिन्। खेलको ४०औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मी ९–० को जित निकाल्न सफल भयो।

खेल अवधिभर आर्मीले आफ्नो दबदबा कायम राख्दा बागमती युथ क्लबले गोल फर्काउने अवसरसमेत पाएन। दीपा प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।

यो जितसँगै सेमिफाइनलमा प्रवेश गरेको आर्मीले अब विभागीय टोली एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

डी–१९ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका ३ विभागीय टोलीसहित ८ क्लब सहभागी छन्। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन्। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

धरानमा पहिलोपटक आयोजना भइरहेको रात्रिकालीन महिला गोल्डकपमा दर्शकको आकर्षणसमेत बढ्दै गएको छ। प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।

Share Now