Prakash Adhikari November 18, 2026

कीर्तिपुर(काठमाडौं), २ मंसिर । तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा पुगेको छ।

बुधबार सम्पन्न खेलमा काठमाडौ गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन क्वालिफायरमा पुगेको हो।

चितवनले अब दोस्रो क्वालिफायरमा भोलि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।

आजको खेलमा चितवनले दिएको २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो।

खेलमा काठमाडौका विलियम वसिस्टोले ३७ रन बनाए। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। । सेहानले २४ र रसिद खानले १२ रन थपे। त्यस्तै सोनु देवकोटाले ६, साम हेजलेटले ३, साहिल पटेलले २ रन थपे। कप्तान करण केसी र जहानदाद खानले समान एक एक रन बनाए।

काठमाडौलाई रोक्ने क्रममा चितवनका रिजन ढकालले ४ विकेट लिए। खेलमा उसामा मिरले ३ विकेट लिए। सहाहुद्दिन खान र कुशल मल्लले समान एक एक विकेट झारे।

त्यसअघि ओपनर कमिल मिसाराको शतक र कप्तान रवि बोपाराको अर्धशतकमा चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रनको विशाल योगफल बनाएको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले जारी एनपीएलमा तेस्रो ठूलो योगफल तयार पारेको थियो। यसअघि लिग चरणमा पोखरा एभेन्जर्सले काठमाडौविरुद्ध २ सय २४ र कर्णाली याक्सविरुद्ध २ सय १७ रनको बनाएको थियो।

आज चितवनका ओपनर मिसाराले ५९ बलमा १० छक्का र ५ चौकासहित नटआउट सर्वाधिक १ सय २० रन बनाए । यो एनपीएल इतिहासमा व्यक्तिगत सर्वाधिक स्कोर हो । गत सिजन कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध नटआउट १ सय १४ रनमा बनाए थिए।

मिसाराले ५३ बलमा ४ चौका र ८ छक्का सहयोगमा शतक पूरा गरे। जारी एनपिएलमा शतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि पोखराका युवराज साम्राले कर्णालीविरुद्ध शतक पूरा गरेका थिए।

कप्तान रविले करियरको ५ सयौँ खेलमा अर्धशतक पूरा गरेका हुन्। उनी ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५३ रन बनाउँदा रसिद खानको बलमा बोल्ड भए। तेस्रो विकेटका लागि मिसारा र कप्तान रवि बोपाराले १ सय ५४ रनको साझेदारी गरेका थिए ।

अर्का ओपनर देव खनाल १७ रन बनाउँदा करण केसीको बलमा रासिद खानबाट क्याच आउट भए। । डेविड मलान शून्य रनमा पेभेलियन फर्के। विवेक यादवले ८ रन बनाउँदा रासिद खानको बलमा सोनु देवकोटाकोबाट क्याच आउट भए।

चितवनलाई रोक्ने क्रममा काठमाडौका लागि करण र रासिदले समान २ । २ विकेट लिए। आजको खेलको विजेता चितवनले भोलि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । हिजो पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर फाइनलमा स्थान पक्का गरेकों थियो।

Share Now