Prakash Adhikari November 20, 2026

कठमाडौं, ४ मंसिर । नेपालमा सरसफाईको क्षेत्रमा पुनर्जागरण अभियान चाल्न यस क्षेत्रमा कार्यरत अभियान्ता र विज्ञहरुले सुझाव दिएका छन् ।

विश्व शौचालय दिवसका अवसरमा स्मार्ट वास सोलुसनको आयोजनामा बिहिवार राजधानीमा सम्पन्न कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रमलाई प्रमुख अतिथिकोे रुपमा सम्बोधन गर्दै पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य जगदिश खरेलले सरसफाईको क्षेत्रमा अपेक्षित नतिजा हासिल गर्न नेपाललाई खुला दिसामुक्त बनाउन चालिएको अभियानको जस्तै नयाँ अभियान थाल्नुपर्ने बताउनुभयो । उहाँले विगतमा सरकाको नेतृत्व(लिडरसिप), दातृ निकायहरुको साझेदारी(पार्टनरसिप) र नागरिकको अपनत्व(वनरसिप)लाई संयोजित गरी खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफल भएको बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएका खरेलले भन्नुभयो, “अब स्थानीय निकायहरुको नेतृत्वमा पुनर्जागरण अभियान सञ्चालन गरेमा त्यस्तै सकारात्मक र अपेक्षित नजिता ल्याउन सकिन्छ ।”

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले देशलाई खुला दिसामुक्त राख्ने विषयमा सातवर्ष अगाडि नै महत्वपूर्ण उपलब्धि हासिल भए पनि सरसफाईको गुणस्तर अभिवृद्धि र संरचनाको मर्मतसंभार तथा सुधारमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले घरायसी सरसफाईबाट सार्वजनिक क्षेत्रको सरसफाईको र विभिन्न उपक्षेत्रको सरसफाईमा ध्यान केन्द्रित हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । खानेपानी र सरसफाईको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका पूर्वमन्त्री साहले सरसफाईको दिगो व्यवस्थापनको लागि फोहोरलाई स्रोतको रुपमा उपयोग गरेर मोहर बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता डा. नवराज खतिवडाले खुला शौचको अवस्था, शौचालयको उपयोग, शौचालयको सरसफाई, शौचालयको उपयोगमा पुरुष महिला र अन्य लिंगको सहज पहुँचका क्षेत्रमा देखिएका समस्या र समाधानका बारेमा प्रस्तुति दिनुभएको थियो । उहाँका अनुसार अझै पनि शौचालयको निर्माण गर्दा हाम्रा प्राविधिक र लगानीकर्ताले महिलाहरुको संवेदनशिलतालाई ध्यानमा दिन सकेका छैनन् । सार्वजनिक स्थलका शौचालयहरु उपयोग गर्न लामो समयसम्म लाइन लाग्नुपर्ने अववस्था छ ।

कार्यक्रममा खानेपानी तथा ढलनिकास विभागका सहसचिव सुरतकुमार बमले शौचालयहरु सुरक्षित,स्वच्छ र समान पहुँचयोग्य बनाउन निर्माण पक्षका प्राविधिक र लगानीकर्ताको पनि प्रमुख भूमिका रहने बताउनुभयो । “शौचमा महिलालाई बढी समय लाग्ने भएकोले सार्वजनिक स्थलका शौचालय पुरुषहरुलाई भन्दा महिलाहरुका लागि बढी संख्यामा बनाउनु आवश्यक छ।”, उहाँले भन्नुभयो ।

कार्यक्रममा युनिसेफ नेपालका खानेपानी सरसफाई र स्वच्चता क्षेत्र प्रमुख मोहम्मद इफ्रान अल्राईले नेपाल दक्षिण एशियामा नै पहिलो खुला दिसामुक्त राष्ट्र बन्नु गर्वको विषय भएको बताउनुभयो । उहाँले शौचालयका पूर्वाधार भएपनि यसको सुरक्षित प्रयोगमा ग्याप रहेको बताउनुभयो । उहाँले दिसापिशाबजन्य फोहरको दीर्घकालीन व्यवस्थापनको बारेमा सबै पालिकाहरुले सोच्नु पर्ने समय आएको पनि बताउनुभयो । उहाँले शौचालयको पहुँच र उपयोगमा महिला,अपांग,तेस्रो लिंगीहरुको सुरक्षा, आत्मसम्मानमा कुनै संझौता नहुने वातावरण बनाउन र सरसफाईका पूर्वाधारहरु जलवायु परिवर्तनबाट सिर्जना हुने कुनै पनि घटनाबाट सुरक्षित हुने ढंगका बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रमको प्राविधिक सत्रमा एसएनभी नेपालका कृष्ण जीसीले ‘दिसापिसाबजन्य फोहर व्यवस्थापनमा लैंगिक समानता र सामाजिक समावेशिता’, युनिसेफ नेपालका वास विज्ञ दण्डिराम विश्वकर्माले ‘सुरक्षित पानी समुदाय र दिगो खुला दिसामुक्त कार्यक्रम’, वेल्थ हंगर लाइफ/सबल नेपालका किरण श्रेष्ठले ‘मधेस प्रदेशका १० स्थानीय निकायमा सरसफाईको अवस्था’,कमल अधिकारीले ‘खुला दिसामुक्तको अवस्थालाई दिगो राख्दै सरसफाईको क्षेत्रमा सुधार’ ल्याउने विषयमा प्रस्तुति दिनुभएको थियो ।

स्मार्ट वासका अध्यक्ष रामदीप साहको अध्यक्षतामा भएको सो कार्यक्रममा धन्यवाद ज्ञापन हरिप्रसाद शर्माले गर्नुभएको थियो ।

नेपालमा सरसफाईको अवस्था

नेपाल २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषित भएको थियो । हरेक घर र संस्थाहरुमा सार्वजनिक शौचालय निर्माण अभियान सम्पन्न गरेर देशलाई खुला दिसामुक्त घोषणा गरेपनि शतप्रतिशत नेपालीको घरमा शौचालयको सुविधा भने नभएको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवेदनमा सुरक्षित खानेपानीको पहुँच ४७.५ प्रतिशत, सुरक्षित सरसफाइ ३९।९ प्रतिशतमा सीमित भएको कुरा उल्लेख छ ।

प्रतिवेदन अनुसार नेपालमा ९० प्रतिशत जनसङ्ख्याको घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच छ। तर घरपरिसरमै पानी उपलब्ध हुनु, आवश्यक परिमाणमा प्राप्त हुनु र पानीमा इकोली ब्याक्टेरिया नहुनु जस्ता तीनवटै सर्त पूरा भएको सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानीमा पहुँच प्राप्त जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै छ।

त्यस्तै सुधारिएको सरसफाइ सुविधामा ९२.८ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ। तर सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवा प्रयोग गर्ने जनसङ्ख्या ३९.९ प्रतिशत मात्रै छ।

प्रतिवेदन अनुसार सुधारिएको सरसफाइ र सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइबीच ५२.९ प्रतिशत बिन्दुको अन्तर छ। यसमध्ये १२.९ प्रतिशत बिन्दुको अन्तर साझा शौचालयको प्रयोग र ४० प्रतिशत बिन्दुको अन्तर मलमूत्रयुक्त लेदोकोसुरक्षित सङ्कलन तथा प्रशोधनसँग सम्बन्धित छ ।प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा सुधारिएको सरसफाइ सुविधामा ९९.४ प्रतिशत जनसङ्ख्याको पहुँच छ। तर सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवामा पहुँच प्राप्त जनसङ्ख्या १४.३ प्रतिशत मात्रै छ।

प्रतिवेदन अनुसार साबुनपानीले हात धुने सुविधा भएका जनसङ्ख्याको अनुपात वि।सं। २०७६ मा ८०.७ प्रतिशत रहेकामा २०८१र८२ मा बढेर ८६.४ प्रतिशत पुगेको छ। सबैभन्दा विपन्न २० प्रतिशत जनसङ्ख्यामा यस्तो सुविधा ४९.८ प्रतिशतबाट बढेर ७०.१ प्रतिशत पुगेको छ। तर, खुला दिसापिसाब गर्ने जनसङ्ख्याको हिस्सा वि.सं. २०७६ को ५ प्रतिशतबाट बढेर २०८१र८२ मा ५.५ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

मधेस प्रदेशका ग्रामीण क्षेत्रमा खुला दिसापिसाब गर्ने जनसङ्ख्याको हिस्सा ११.५ प्रतिशतबाट बढेर १९.४ प्रतिशत पुगेको छ। लुम्बिनी प्रदेशका अर्धसहरी क्षेत्रमा पनि यो सूचक ५ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ।

प्रतिवेदनले देशका ७ सय ५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थाको विश्लेषण गरेको छ। प्रतिवेदनअनुसार ५७ वटा अर्थात् ७.६ प्रतिशत स्थानीय तहमा खानेपानी र सरसफाइ दुवै क्षेत्रमा गम्भीर असमानता रहेको छ। जोखिम समूहमा रहेका ४ सय २४ स्थानीय तहमध्ये २ सय ७७ वटामा खानेपानी र १ सय ४७ वटामा सरसफाइ प्रमुख अवरोधका रूपमा पहिचान भएका छन्।

प्रदेशगत रूपमा मधेसका १ सय ३६ स्थानीय तहमध्ये १ सय ९ वटा अर्थात् ८०.१ प्रतिशतमा सरसफाइलाई प्राथमिकता दिनुपर्ने देखिएको छ। प्रतिवेदन अनुसार खानेपानी तथा सरसफाइको औसत समता सूचक कर्णाली प्रदेशमा ०.६३५ र मधेस प्रदेशमा ०.६५९ रहेको छ।उच्च वञ्चितीकरण भएका स्थानीय तहमध्ये कर्णाली प्रदेशका १८ र सुदूरपश्चिम प्रदेशका १५ स्थानीय तहमा गम्भीर तथा एकीकृत हस्तक्षेप आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

विश्व शौचालय दिवस

विश्व शौचालय दिवस हरेक वर्ष नोभेम्बर १९ मा मनाइन्छ। यसको उद्देश्य विश्वव्यापी सरसफाइ संकट समाधान गर्न कदम चाल्न प्रेरित गर्नु हो। विश्वभर ३.४ अर्ब मानिसहरू ‘सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ’ सुविधा बिना बाँचिरहेका छन् भने करिब ३५ करोड ४० लाख मानिसहरू खुला स्थानमा दिसापिसाब गर्न बाध्य छन्। दिगो विकास लक्ष्य ६ले ‘सबैका लागि पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने’ लक्ष्य राखेको छ। विशेष गरी, यसको लक्ष्य ६.२ मा ‘खुला स्थानमा दिसापिसाब गर्ने प्रथाको अन्त्य गर्ने तथा सरसफाइ र स्वच्छतामा पहुँच प्रदान गर्ने’ कुरा उल्लेख छ।

सन् २०१३ मा संयुक्त राष्ट्र संघको महासभाले विश्व शौचालय दिवसलाई आधिकारिक दिवसका रूपमा घोषणा गरेको थियो। १ सय ९३ सदस्य राष्ट्रहरू रहेको संयुक्त राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव अघि सारेको थियो सन् २००१ मा सिंगापुरमा आधारित गैरसरकारी संस्था ‘वर्ल्ड ट्वाइलेट अर्गनाइजेसन’ले अनौपचारिक रूपमा विश्व शौचालय दिवसको सुरुवात गरेको थियो।

‘युएन वाटर’ विश्व शौचालय दिवसको आधिकारिक आयोजक हो। यस बर्षको नारा ‘सुरक्षित शौचालय, समान अवसर’ रहेको छ ।

Share Now