Prakash Adhikari November 5, 2018

दुनै(डोल्पा),१९ कात्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सात पुरुष र तीन महिला रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाया, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाया, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाया, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धरालाको मृत्यु भएको छ ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको छ ।

१२ जना यात्रु सवार जीप सडकबाट १५ मिटर तल ठूलीभेरी नदीमा खसेको थियो । देशको सडक सञ्जालसंग जोडिन नसकेको डोल्पामा े जिल्लावासीको सजिलोको लागि हेलिकोप्टरबाट ल्याएका जीपहरु सदरमुकाम दुनै–त्रिपुराकोट र दुनैदेखि एअरपोर्ट रहेको जुफालसम्म सञ्चालन गर्ने गरिएको छ ।

Share Now