काठमाडौं, ८ मंसिर । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाली टिम पाकिस्तान ‘ए’विरुद्ध मैदानमा उत्रिदै छ।
यी दुई बीचको खेल मंगलबार दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
समूह ‘बी’मा पाकिस्तान चार अंकसहित शीर्ष स्थानमा छ। भारत र नेपालले समान दुई अंक जोडेका छन्।
पाकिस्तानको नेट रनरेट १.०९० हुँदा भारतको २.५८० र नेपालको माइनस २.४६१ छ। यस्तो अवस्थामा पाकिस्तानलाई हराएर चार अंक पुर्याए पनि भारतले यूएईलाई पराजित गरेमा नेपाल, भारत र पाकिस्तानको अंक बराबर हुन सक्छ। त्यसपछि नेट रनरेटले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ।
भारतसंगको पहिलो खेल ३ सय ६ रनको विशाल अन्तरले गुमाएको नेपाल दोस्रो खेलमा यूएईलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको थियो।
आज पाकिस्तानविरुद्ध ठूलो अन्तरको जित निकाल्न नेपालले ब्याटिङमा उल्लेख्य सुधार गर्नुपर्नेछ। पाकिस्तानको बलियो बलिङ आक्रमणविरुद्ध सुरुवाती विकेट जोगाउँदै ठूलो साझेदारी निर्माण गर्नु नेपालको मुख्य आवश्यकता हुनेछ।
पाकिस्तान ‘ए’ भने लगातार दुई जितसहित बलियो अवस्थामा छ। उसले यूएईलाई ६१ रनले र भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ।
बलिङमा सुफियान मुकिम र अली रजाले यूएईविरुद्ध समान तीन विकेट लिएका थिए। मुकिमले पछिल्ला चार खेलमा आठ विकेट लिएका छन्। मोहम्मद हसनैनको तीव्र गतिका बल पनि नेपाली ब्याटरका लागि चुनौती बन्न सक्छ।
नेपालले पाकिस्तानको आक्रामक ब्याटिङलाई रोक्न सुरुवाती विकेट लिनुपर्नेछ। त्यसपछि लक्ष्य पछ्याउँदा वा पहिले ब्याटिङ गर्दा ठूलो योगफल बनाउने अवसर सदुपयोग गर्नुपर्नेछ।
सामान्य जितले अंक त बढाएपनि तर भारतले पनि जित निकालेको अवस्थामा नेपालको सेमिफाइनल यात्रा नेट रनरेटमै अड्किन सक्छ।






