काठमाडौं, २० कार्तिक । नेपालको सेयर कारोबार आजदेखि अनलाइन प्रणालीबाट हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कारोबारको शुभारम्भ अर्थ मन्त्री डा. युवराज खतिवडाले मंगलबार बिहान साढे १० बजे याक एण्ड यति होटेलबाट गर्नुहुने जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर लगानीकर्ता हरु नयाँ अनलाईन प्रणालीबारे अभ्यस्त नभएसम्म केही समयका लागि अनलाइन प्रणाली र हाल कारोबार भइरहेको परम्परागत प्रणाली दुवै सञ्चालन गरिनेछ ।
लगानीकर्ताले पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिएपनि ब्रोकरले भने अनलाइन प्रणाली मार्फत नै नेप्सेमा शेयर कारोबार गर्ने आदेश पठाउने व्यवस्था भएको छ ।।
अनलाइन मार्फत लगानीकर्ताले जुनसुकै स्थानबाट पनि शेयर खरिद बिक्रीको आदेश दिन सक्दछन । परम्परागत प्रणालीमा लगानीकर्ता धितोपत्र व्यवसायी(दलाल)को कार्यालय जानै पर्ने व्यवस्था गरिएको थियो ।
देश र विदेशको जुनकुनै स्थानबाट पनि खरिद बिक्रीको आदेश दिन सकिने भएकोले यो पद्धति अबलम्बन भएपछि नेपालको धितोपत्र बजार विस्तार हुने अनुमान गरिएको छ । यसले माग, आपूर्ति र कारोबार रकममा बृद्धि हुने र त्यसले सेयर सुचांक पनि बढ्ने विश्वास गरिएको छ ।
कसरी हुन्छ कारोबार
अनलाइन मार्फत सेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले सेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनुपर्ने हुन्छ । यसका लागि लगानीकर्ताको हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बरसहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनु पर्ने हुन्छ । त्यस पश्चात ब्रोकरले लगानीकर्ताको युजर नेम र पासवर्ड नेप्सेको सिस्टममा आबद्ध गर्नेछ । सिस्टममा आबद्धभएपछि नेप्सेले युजर नेम र पासवर्ड लगानीकर्ताको इमेलमा पठाउने छ । युजर नेम र पासवर्ड पाइसकेपछि लगानीकर्ताले आफू अनुकुल पासवर्ड परिवर्तन गरेर सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
अनलाइन प्रणाली मार्फत कारोबार गर्नका लागि सर्वप्रथम ब्रोकर र लगानीकर्ता बिच सम्झौता पत्रमा हस्ताक्षर गरिनेछ । यसमा ब्रोकर र लगानीकर्ताको दायित्व, जिम्मेवारी र जोखिम व्यवस्थापन सम्बन्धी कुराहरु उल्लेख हुन्छ ।
अनलाइन सेयर खरिद बिक्री आदेश दिँदा इन्टरनेटको मध्यमबाट लगानीकर्ताको हितग्राही खाता ब्रोकरका माध्यमबाट सिधै नेप्सेमा जोडिन्छ । नेप्सेले सेयर आदेशको तथ्याङ्क सङ्कलन गर्न सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्याङ्क सङ्कलन गरेपछि पुनः लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेमा पठाउँछ । त्यसपछि नेप्सेले उक्त आदेश पुनः ब्रोकर कम्पनीलाई पठाउँछ ।
त्यसैगरी ब्रोकरले नेप्सेको आदेश पाइसकेपछि बैङ्कमा जम्मा हुनुपर्ने २५ प्रतिशत ब्यालेन्स तथा हितग्राही खातामा सेयर भए नभएको जाँच गर्छ । लगानीकर्ताको बैंक खातामा ब्यालेन्स तथा बिक्रीकर्ताको हितग्राही खातामा सेयर भएको अवस्थामा लगानीकर्ताको आदेश अनुसारको सेयर हितग्राही खातामा जम्मा गरिदिन्छ ।
‘खरिदकर्ताको बैंक खातामा आवश्यक रकम नभएमा वा बिक्रीकर्ताको खातामा आवश्यक सेयर नभएमा सेयर खरिद तथा बिक्रीको आदेश स्वत रद्द हुन्छ,जसले गर्दा सेयर बजारमा उधारो कारोबार बन्द हुन्छ।
यो व्यवस्थाले लगानीकर्ताको समयको बचत हुन्छ । ब्रोक्रर कार्यालयको पनि यसले लागतलाई घटाउने छ ।
२६सयले लिए युजर्स नाम र पासवर्ड
नेप्सेले अनलाइनको सेयर खरिदबिक्रीको लागि परिक्षण गर्नको लागि लगानीकर्तालाई आह्वान गरेको थियो । अहिलेसम्म ब्रोक्रर कार्यालयहरुबाट २६ सय लगानीकर्ताले अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिएका छन् ।
लगानीकर्ता र धितोपत्र व्यवसायीहरुलाई यो पद्धतिमा अभ्यस्त गराउनुका साथै पद्धतिका कमिकमजोरी केलाउन नेप्सले केही महिना अगाडिदेखि अनलाईन पद्धतिको नमूना सञ्चालन(मक टेडिड.) पनि गर्दै आएको थियो । परीक्षण सफल भएपछि नेप्सेले पद्धतिलाई ब्यबहारिक रुपमा कारोबारमा लैजान लागेको हो ।
सेयर कारोबारको इतिहास
नेपालको सेयर बजारको इतिहास लामो ८ दशक लामो छ । विराटनगर जुटमिल र नेपाल बैंकले वि सं १९९४ मा सर्वसाधारण सेयर निष्कासन गरेपनि नेपालमा सेयरको कारोबार थालनी भएको हो । तर त्यसको व्यावसायिक कारोबार भने २०३३ सालमा नेपाल सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि भएको हो । सर्वसाधारणको पहुँचमा नरहेको यो बजारमा आफ्नो सेयर बिक्री गर्न बिक्रेता आफैले लगानीकर्ता खोजेर लैजानु पर्ने अवस्था थियो । २०५० सालमा नेपाल स्टक एक्सचेञ्जको स्थापना भएपछि यसले ब्यवसायिक कारोबार गर्ने मार्ग प्रशस्त गरेको हो ।
नेप्सेको स्थापनासँगै ओपन क्राइ सिस्टमबाट शेयर कारोबार सुरु भयो। यो अवधि २०६४ सालसम्म रह्यो। त्यसपछि नेप्सेले कम्युटिकृट स्वचालित पद्धति अपनायो । यसले ब्रोकरहरु नेप्सेमा गएर खरिदबिक्री आदेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्यो । ब्रोकरहरुले आफ्नै वर्किड. स्टेशनबाट सेयर खरिद र बिक्रीको आदेश दिन सक्ने भए ।
अटोमेटेड पद्धतिले सेयर बजारलार्इ प्रविधिमा प्रवेश गरायो। त्यससँगै २०६७ सालमा स्थापना भएको केन्द्रिय निक्षेप प्रणालीले सेयर बजारलार्इ पेपरलेस बनाउने कार्यको सुरुवात गर्यो। यसले कम्पनीको सेयर प्रमाणपत्रलार्इ अभौतिक गरि डिम्याट खातामार्फत सेयर कारोबार गर्न मिल्ने बनायो। साथै प्राथमिक बजारलार्इ पूर्ण रुपमा कागबिहिन बनाउने ठूलो योगदान गर्यो।