मेरिल्याण्ड(संयुक्त राज्य अमेरिका), २१ कार्तिक । नेपाली मूलका एचबी (ह्यारी) भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्य विधायिका (हाउस अफ डेलिगेट्स(लागि विजयी बन्नुभएको छ । मंगलवार सम्पन्न निर्वाचनमा भण्डारी डिस्ट्रिक ८ वाट निर्वाचित हुनुभएको हो ।
तीन जना निर्वाचित हुने पदमा उठेका ६ जनाको प्रतिस्पर्धामा भण्डारी दोस्रो बन्दै विजयी बन्नुभयो । अमेरिकाको कुनै पनि संसदका लागि भएको निर्वाचन जित्ने पहिलो नेपाली मूलका जनप्रतिनिधिमा पहिलो बन्ने इतिहास पर्वतबाट अमेरिका पुगको ४१ बर्षिया भण्डारीले कायम गर्नुभएको छ ।
मेरिल्याण्ड राज्य डेलिगेटस सभामा ४७ डिष्ट्रिकबाट १ सय ४१ जना सदस्य रहने ब्यवस्था छ । डेमाक्रेटिक पार्टीबाट उमेदवार बन्नभएका भण्डारी पेशाले शिक्षक हुनुहुन्छ । प्रारम्भिक सर्वेक्षणमा पनि भण्डारी दोस्रो स्थानमा रहँदैआउनुभएको थियो । ँँ।
गत प्राथमिक निर्वाचनमा खसेको २० हजार ७ सय २६ मतमध्ये भण्डारीले २८ दशमलव १ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो हुनुभएको थियो ।
गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बन्नुभएको थियो । उक्त प्राथमिक निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी बन्नुभएको थियो ।
यसैगरी न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएकी राज्य डेमोक्र्याटिक दलकी उम्मेदवार मदलसा गुरुङ थोरै मतले पराजित हुनुभएको छ ।


















