Prakash Adhikari November 11, 2018

 

किन्सासा(कंगो),२५ कार्तिक(बीबीसी) । प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य निकायले जनाएको छ।

उक्त क्षेत्रमा करिब ८ लाख मानिसहरूको बसोबास रहेको छ।

खोप कार्यक्रमले अहिलेसम्म २५ हजार मानिसहरूलाई खोप लगाइसकेको छ।

आक्रान्त अवस्था

स्वास्थ्य मन्त्री ओली इलुङ्गाले सशस्त्र विद्रोही लडाकुहरूले स्वास्थ्य टोलीलाई दुर्व्यवहार गरिरहेको बताएका छन्।

सेप्टेम्बर महिनामा, सशस्त्र विद्रोही समूहले धेरै घण्टासम्म हमला गरेकोले बेनीमा खोप कार्यक्रम स्थगित गरिएको थियो।

वर्षौं लामो गृहयुद्ध र राजनीतिक उथलपुथलले कंगो आक्रान्त बनेको छ।

गत जुलाईमा सुरु भएको इबोला अहिले कंगोमा प्रकोपको रुपमा देखापरेको छ।

सन् १९७६ मा सुरुमा पत्ता लागेयता कंगोमा इबोला देखिएको यो १० औं पटक हो।

बाधा नपुर्याउन आह्वान
पछिल्लो विवरण अनुसार स्वास्थ्य मन्त्रीले अहिलेसम्म २ सय ९१ जनामा इबोला देखिएको र ती मध्ये २ सय १ जनाको मृत्युको पुष्टि भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघका शान्तिसेनाहरूले इबोला भाइरसविरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मीलाई बाधा नपुर्याउन सशस्त्र समूहहरूलाई आह्वान गरेका छन्।

इलुङ्गाले शुक्रबार स्वास्थ्यकर्मीको टोलीले शारीरिक हमला र धम्की झेल्नुपरेको बताएका छन्।

साथै उनीहरूको सामान पटकपटक तोडफोड पनि गरिएको उनले बताए।

द्रूत सेवा दिने र्‍यापिड रेस्पोन्स मेडिकल युनिटका दुई सहकर्मीले हमलाका क्रममा ज्यानैसमेत गुमाएको उनले बताए।

Share Now

Leave a comment.