वाशिंटन(संयुक्त राज्य अमेरिका),२३ मंसिर(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ‘चिफ अफ स्टाफ’ ले यो वर्षको अन्त्यसम्ममा जागीर छोड्ने बताएका छन्।
जेनरल जन केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको खबरहरू आएका थिए।
ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए।
अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जर्नेल केलीसँग ट्रम्पको सम्बन्ध पछिल्लो समय बिग्रिएको खबरहरू आएका छन्।
प्रशंसा
तर ट्रम्पले केलीलाई महान् व्यक्ति भनेका छन् र उनलाई कसले विस्थापित गर्नेछन् भनेर भोलि वा अबको दुई दिनभित्र घोषणा गरिने बताएका छन्।
ट्रम्पले केली दुईवटा पदमा गरी झण्डै दुई वर्षसम्म आफूसँगै रहेको भन्दै उनको सेवाको आफूले धेरै प्रशंसा गर्ने बताएका छन्।
सूचनाहरू चुहिएको भनिएका बेला सेनाभित्र प्रशासनमा अनुशासन ल्याउने बाचा गर्दै भित्रिएका थिए।
उनले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरे पनि सूचना चुहिने क्रम पूर्ण रुपमा भने हटेको थिएन।
निकालिनेको संख्या बढ्दो
केली डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका निर्देशकसमेत रहेका थिए।
ट्रम्पको प्रशासनमा ह्वाइट हाउसबाट जम्मा २८ जना व्यक्तिहरूले राजीनामा दिएका छन् वा उनीहरूलाई जागीरबाट निकालिएको छ।
गत महिना रोयटर्स समाचार संस्थाले एउटा स्रोतलाई उद्धृत गर्दै लेखेको थियो, चिफ अफ स्टाफको भूमिकामा उप राष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ।