Prakash Adhikari December 13, 2018

,
काठमाडौं, २७ मंसिर । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई देशमा लोकतन्त्रको दियो जगाउन, राष्ट्रिय एकता कायम राख्न र मुलुकलाई अन्न र जलमा आत्मनिर्भर राखिराख्न तीन महत्वपूर्ण सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचत्द्र पौडेलद्धारा लिखित’ नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद पुनर्निर्माणको मार्गचित्र’ नामक पुस्तकको बिहीबार राजधानीको अनुपम व्यांक्वेटमा लोकार्पण गर्दै सो सल्लाह दिनुभएको हो ।

‘मलाई त संविधान सभाबाट अझ परिष्कृत संविधान बनोस र सबैको सहमतिमा नै जारी हुन सकोस् भन्ने चाहाना थियो,प्रयास पनि गरेको हो’, प्रथम राष्ट्रपति डा. यादवले भन्नुभयो,’तर जुन संविधान आएको छ , यसले नेपालका विद्यमान विषयहरुलाई धेरैहदसम्म संबोधन गरेको छ , त्यसैले मेरो पहिलो सुझाव छ,लोकतन्त्रको स्थापना,पुनस्थापना र विकासको लागि लडेको नेपाली कांग्रेसले संविधानलाई यसको अक्षर र भावना अनुरुप कार्यान्वयनमा पनि लैजाने प्रयासमा अग्रणी नेतृत्व लेओस् ।’

प्रथम राष्ट्रपति डा. यादवले नेपालीको हृदयमा धर्म प्रतिको अगाध आस्था देखिएको बताउदै संविधानले धर्म परिवर्तन गर्न निषेध गरको उल्लेख गर्दै भन्नुभयो, त्यसलाई कार्यान्वयनमा ल्याउन कानुनको खाँचो छ । त्यसमा ध्यान दिनुहोस् । उहाँले धर्म परिवर्तनका निमित्त भएका गतिविधिहरुले मानिसहरुको धार्मिक आस्थामा चोट पुगिरहेको र त्यसलाई नियन्त्रण नगरे कालान्तरमा धार्मिक द्धन्द्ध उत्पन हुने संकेत पनि गर्नुभयो ।

झण्डै सात बर्ष नेपालको राष्ट्र प्रमुख हुनुभएका प्रथम राष्ट्रपति डा.यादवले विकासको होडमा प्राकृतिक सन्तुलन र वातावरणको विनासका गतिविधिप्रति ध्यान दिन आग्रह गर्दै भन्नुभयो, नेपालको आधा जनसंख्या तराईमा बसोबास गर्दछन् । तर तराईलाई आवश्यक पर्ने पानीको मुहान सुक्ने गरि पहाड र तराईमा विकासका कामहरु गरिएका छन् । विकास गर्दा वातावरण मैत्रीपूर्ण प्रविधि अपनाईएन भने तराई मरुभूमि बन्ने उहाँले चेतावनी दिनुभयो ।

प्रथम राष्ट्रपति डा.यादवले हालैको आफ्नो तराई बसाईको अनुभव सुनाउदै भन्नुभयो, तराईका जनतामा देशमा पञ्चायती व्यवस्था लागू गरिएपछि राजा महेन्द्रले तराईको स्रोत मानिएको जंगल फाँडेर पहाडी समुदायको वस्ती बसाएको, पूर्वपश्चिम राजमार्ग बनाएर चारकोशे झाडी नासेको आरोप लागिरहेको बेला हाम्रा विकास गतिविधिहरु पनि चुरेकोे दोहन र पहाडी क्षेत्रमा बन विनास गरेर तराईमा मूल सुक्ने अवस्था सिर्जना गर्न केन्द्रित भएको बताउनुभयो ।

उहाँले तराईमा पूर्वपश्चिम राजमार्गलाई ६ लेन बनाउने, पूर्वपश्चिम रेलमार्ग बनाउने, ४ देखि ६ लेनको हुलाकी राजमार्ग बनाउने क्रममा तराईको भूमीको नास हुने,प्राकृतिक सम्पदा वन जंगलको नास हुने, डुवान समस्या उत्पन्न हुने पक्षमा त्यति ध्यान नपुगेको पनि बताउनु भयो ।

प्रथम राष्ट्रपतिले पूर्वपश्चिम राजमार्ग निर्माणबाट जोगिएको वाराको जंगल मासेर एअरपोर्ट बनाउने विषय र सुदूर पश्चिमको गोदावरीको जंगल मासेर राजधानी बनाउने निर्णयमा पनि पुनर्विचार गर्न अनुरोध गर्नुभयो । ‘हामीले अन्नको भण्डार उर्बर तराईलाई मरुभूमि बनाईरहेका छौ, मानिसहरु जग्गा बेचेर मलेसिया र खाडीको मरुभूमिमा काम खोज्न पठाएका छौ , भावी सन्ततिलाई अन्न र पानीको व्यवस्था हुने गरी दिगो विकास गर्न आवश्यक छ , कांग्रेसले यसमा ध्यान देओस् ‘, प्रथम राष्ट्रपति डा. यादवले भन्नुभयो ।

प्रथम राष्ट्रपति डा.यादवले तराई र पहाडमा चलेको डोजर विकासले पहिरो,बाढी जस्ता प्राकृतिक विपत्ती ल्याएको र तराईमा मरुभूमिकरणलाई तीव्र बनाएको आरोप लगाउदै मध्यपहाडी राजमार्गको निर्माण गर्दा त्यसबाट पहिरो नजाने, बनको कम क्षति हुने र पानीको मूल नसुक्ने कुरा सुनिश्चित गर्न पनि आग्रह गर्नुभयो ।

प्रथम राष्ट्रपति डा. यादवले सम्मानित बामपन्थी नेता मदनभण्डारीका नाममा बनाउन लागिएको राजमार्गले चुरेको संवेदनशील वातावरणलाई थप चुनौति दिन सक्ने भन्दै यसमा पुनर्विचार गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले विगत केही समययता देशका नेताहरुमा देशभर पुगेर संगठन गर्ने संस्कार हराएको र राष्ट्रिय एकता विखण्डित हुन सक्ने जोखिम देखिएकोले नेताहरुलाई पहाडका तराई र तराईका पहाडमा गएर विकास निर्माण र अधिकारका विषयमा कुरा गर्न आग्रह गर्नुभयो ।

पुस्तक लोकार्पण समारोहमा रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवाद नै नेपालको लोकतन्त्रलाई सबल बनाउन सकिने र नेपालको विकास गर्न सकिने देखेकोले आफूले यसका बारेमा पुस्तक लेखेको बताउनुभयो ।

अर्का समाजवादका प्रखर वक्ता एवम् कांग्रेसका नेता प्रदीप गिरीले अहिलेको बहस विकासको मोडलमा रहेको उल्लेख गर्दै वी पी कोइरालाले विकासलाई राजनीतिक प्रणालीसंग जोडेर परिभाषित गर्नुभएको बताउनुभयो ।

उहाँले अहिंसावादी गान्धी र क्रान्तिका माध्यमबाट सत्तामा आएका माओत्सेतुड.बीच कैयौ कुरामा समानता रहेको उल्लेख गर्दै भन्नुभयो,दुवै नेताहरु जनताबाट सिकेर जनतालाई नै सिकाउने कुरामा विश्वास गर्नुहुन्थ्यो । अहिले दुवै दर्शनका अनुयायी नेपालीहरुमा जनतासंग सिक्ने कुरा हराएको र जनतालाई अनावश्यक सिकाउने प्रवृत्ति विकसित भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् अर्थविद् डा. रामशरण महतले अहिले कम्युनिष्टहरु पनि उत्पादनका साधनमा राज्यको नियन्त्रण गर्नुभन्दा निजी क्षेत्रलाई छोड्दा विकासको गति चाडो हुँदो रहेछ भन्ने निष्कर्षमा पुगेको र पूँजीवादी अर्थतन्त्रमा विश्वास गर्नेहरु पनि जनताहरुको सामाजिक सुरक्षणका विषयहरुमा राज्यको भूमिका प्रभावकारी हुनेरहेछन भन्ने निष्कर्षमा पुगेकोले प्रजातान्त्रिक समाजवादको मार्ग सही भएको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक डा. लोकराज बरालले प्रजातान्त्रिक समाजवादको बारेमा लेखिएका पुस्तकहरु थपिनु आफैमा एक सुन्दर पक्ष रहेको बताउनु भयो । समाजवादलाई आदर्श र सिद्धान्तमा हैन, व्यवहारमा कसरी कार्यान्वयन गरेर जनताको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ भन्ने विषय पुस्तकमा समेटिएकोले पुस्तक उपयोगी हुने उहाँले विश्वास गर्नुभयो ।

अर्का वक्ता पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपाली कांग्रेस र प्रजातान्त्रिक समाजवादका बारेमा जान्न चाहने हरुका लागि पुस्तक अत्यन्त राम्रो खुराक भएको बताउनुभयो ।

पुस्तकका प्रकाशक एवम् युवा अर्थशास्त्री तथा जनता मिडियाका प्रमुख विजय पौडेलले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टहरुले अवलम्बन गरेको वैज्ञानिक समाजवाद काल्र्समाक्र्सका दुई सन्तान भएको बताउदै नेपालको संविधानले यी दुवैंको संयोजन सहितको आर्थिक मार्गमा देशलाई लगेको उल्लेख गर्नुभयो ।

Share Now

Leave a comment.