शरद केसी /बीबीसी नेपाली सेवा
काठमाडौ,१२ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहार सभ्य र सुसंस्कृत लागेको बताएका छन्।
पोखरा विमानस्थलको विशिष्ट कक्षमा दुई जनाबीच जम्काभेट हुँदा करिब आधा घण्टा कुराकानी भएको नेता श्रेष्ठले बीबीसीलाई जानकारी दिए।
केही दिनदेखि पोखरामै रहेका शाह काठमाण्डूबाट जाँदै गरेका बुहारी हिमानी र परिवारका अन्य सदस्यलाई लिन विमानस्थल पुगेका थिए भने नेता श्रेष्ठ काठमाण्डू फर्किँदै थिए।
पहिलो भेट
“म विशिष्ट कक्षमा पस्दा उहाँले ‘नमस्कार, नारायणकाजीजी’ भन्नुभयो। मैले पनि नमस्कार गरेँ र नजिकै बसेर केहीबेर भलाकुसारी गर्यौँ,” नेता श्रेष्ठले बीबीसीसँग उक्त भेटबारे सुनाए।
उनका अनुसार पूर्वराजासँग उनको त्यो पहिलो भेट थियो।
पूर्वराजाले बेलाबखत दिने वक्तव्यमात्र होइन, उनको सार्वजनिक उपस्थिति र गतिविधिप्रति पनि चासो देखा पर्ने गरेको छ।
हालसालै एउटा पारिवारिक जमघटमा रमाइरहेका पूर्वराजा ज्ञानेन्द्रको तस्बिर सार्वजनिक भएपछि श्रेष्ठको दलका एक शीर्ष नेता अध्यक्ष प्रचण्डले ‘षड्यन्त्रको गन्ध पाएको’ टिप्पणी गरेका थिए।
हाँसे पूर्वराजा
तर नेता श्रेष्ठका अनुसार भेटमा कुनै राजनीतिक कुराकानी भएन।
“बरु मैले ‘तपाईँका सन्देश र वक्तव्यहरू हेरिराखेको छु’ भनेँ। उहाँले पनि हाँसेर देशप्रेम छ हेर्नूस्, केही बोल्न मन लाग्छ भन्नुभयो,” नेता श्रेष्ठले सुनाए।
पूर्वराजाको थप भनाइ उद्धृत गर्दै उनले भने, “त्यसरी नबोल्दा ‘ल, पूर्वराजाको पनि देशप्रति जिम्मेवारी छ, किन नबोल्या होला्’ भन्ने, बोलेपछि पनि चित्त बुझ्दैन, कसैले गाली गर्छन्। यस्तै छ’ भनेर हाँस्नुभो।”
राजपाट गुमाएको पीडा वा सुर्ता उनको भागभङ्गीमा देखिन्थ्यो कि?
श्रेष्ठको जवाफ थियो, “इमान्दारीपूर्वक भन्नुपर्छ, मसँगको कुराकानीमा वा अभिव्यक्तिमा त्यस्तो देखिनँ। पछाडि के गर्नुहुन्छ त्यो अर्कै कुरा हो।”
‘तानाशाह’
दाजु राजा वीरेन्द्रको वंश विनाशपछि ज्ञानेन्द्र शाहले राजगद्दीमा बसेका थिए। त्यसपछि उनले शासन सत्ता हातमा लिँदै गैरदलीय सरकार बनाएका थिए।
तर तत्कालीन माओवादी र संसद्वादी दलबीचको १२ बुँदे समझदारीपछिको जनआन्दोलनसामु उनले शासन फिर्ता गर्नुपरेको थियो।
दलहरूबाट ‘तानाशाह’ राजाको सङ्ज्ञा पाएका उनले संविधानसभाको निर्णयानुसार नारायणहिटी राजदरबार त्यागेका थिए।
भेटमा उनीप्रतिको धारणाबारे नेता श्रेष्ठले भने, “अहिले त एउटा सभ्य, सुसंस्कृत नागरिकको रूपमा उहाँले व्यवहार गर्नुभयो।”