काठमाडौं,२० पुस । नेपाल वायुसेवा निगमका दुई वाइडबडीका विमान खरिदमा ४ अर्बभन्दा बढीको भ्रष्टाचारमा दोषी करार भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका कार्यकर्ताहरुले कोलोमोसो दलेका छन् भने संसदको सार्वजनिक लेखा समितिको आज भएको बैठकमा बोल्ने अधिकांश सदस्य सांसदहरुले उहाँलाई भ्रष्टाचारको महानायकको विशेषण दिएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो भने वाइडबडी विमान खरिद प्रकरणमा छानवीन गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमा छलफल गर्न आयोजित बैठकमा यो खरिदका मास्टर माइण्ड महाप्रबन्धक कंशाकार नै ठहर गर्दै उहाँलाई भ्रष्टाचारका महानायकको संज्ञा दिइएको हो ।
आजको बैठकमा सत्तारुढ सांसदहरुले वहालवाला संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द अधिकारीलाई सिफारीश गरिएको कारबाहीप्रति असन्तुष्टी जनाए पनि सबैको तारो महाप्रवन्धक सुगतरत्न कंसाकार नै रहन पुग्नुभयो । केही सांसदले उहाँका क्रियाकलाप र अभिव्यक्तिलाई ‘पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा तगडा’ र नेपालको संवैधानिक व्यवस्था र ऐन नियम नलाग्ने आफ्नो बचाउका लागि प्रधानमन्त्री,सत्तारुढ दल र सिंगो कार्यकारिणलाई परिचालन गर्न सक्ने तथाकथित नयाँ श्री ६ को दम्भ भनेरसमेत चित्रण गर्नुभयो ।
सत्तापक्षका सांसदहरुले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई घुमाउरो भाषामा बचाउ गरे पनि सबैलाई भ्रष्टाचारको कुण्डमा डुबाउने श्रेया महाप्रबन्धक सुगतरत्न कंशाकारलाई नै दिए । कतिपय सांसदहरुले यो प्रकरणमा मुछिएका र दोषी देखिए पनि उपसमितिले बयान लिन छुटाएकोमा प्राकृतिक न्यायको सिद्धान्त अबलम्बन हुन नसकेकोमा असन्तुष्टि जनाउनुभएको थियो ।
सत्तारुढ दल नेकपाका सांसद प्रेम आलेले भ्रष्टाचारको ठूलो डिजाइनर सुगतरत्न भएको भन्दै उनलाई चाँडो कारबाही हुनुपर्ने बताउनुभयो । उपसमितिको प्रतिवेदनमा कुनै पनि राजनीतिक वा व्यक्तिगत विषय नजोडिएको भन्दै सांसद आलेले यस विषयमा गलत नसोच्न आग्रह गर्दै आफूलाई कतिपय दबावसमेत आएको गर्दै भन्नुभयो, भ्रष्टाचारलाई निमूल पार्ने काम गर्दा धन्यवाद आउनुपर्नेमा गाली पो आयो ।
उहाँले प्रतिवेदनमा गलत कुरा केही नभएको दाबी गर्दै आलेले पूर्वपर्यटन सचिवद्वय प्रेम राई (हाल गृहसचिव( र शंकर अधिकारी ९हाल अवकास) लाई नबोलाउनु भने गल्ती भएको बताउनुभयो । उहाँले आफूलाई निकै दबाव आए पनि प्रतिवेदनमा झूठ कुरा नलेखेको बताउदै भन्नुभयो, ‘मलाई ३३ हजार जनताले घण्टौं लाइन लागेर जिताएका छन् ‘म कसरी झूठ बोल्न सक्छु ?’
वाइडबडी प्रकरणमा मिडियाले सहयोग गरेको भन्दै आलेले धन्यवाद समेत दिनुभयो ।
सांसद हृदयेश त्रिपाठीले निगमका महाप्रवन्धक कंसाकारको नियुक्तिमाथि नै प्रश्न उठाउनुभयो । उहाँले कंसाकार बिवादित रहेको थाहा पाउँदापाउँदै नियुक्त गर्नै मान्छेको नियत खराब भएको बताउदै भन्नुभयो, तालुकदार मन्त्रालय पर्यटन मन्त्रालयले नै उहाँलाई असक्षम भनेर कार्यकारी अध्यक्षबाट अवकाश दिएको रेकर्ड हुँदा हुँदै उहालाई त्यही संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गर्ने कार्य नै गलत भएको बताउनुभयो । ‘म लेखा समितिको संयोजक भएका बेला सुगतरत्न जी दुरसञ्चारमा हुनुहुन्थ्यो’ उहाँले भन्नुभो, ‘त्यहाँ पनि उहाँको एउटा केश थियो, फेरि नियुक्तिचाहिँ कसले ग¥यो ?’ वाइडबडी भ्रष्टाचार काण्डमा सबै भन्दा मूल व्यक्ति सुगरत्न नै भएको उहाँले बताउनुभयो ।
नेकपाको समर्थनमा सांसद जित्नुभएका सांसद त्रिपाठीले मन्त्री रविन्द्र अधिकारीको बचाउ गर्दै पहिलो किस्ता गइसकेको अवस्थामा अन्तिम किस्ता पठाउनु बाध्यता हुन सक्ने तर्क गर्नुभयो ।
वाइडबडी प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिका सदस्यसमेत रहेका संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले निगमका महाप्रवन्धक भ्रष्टाचारका महानायक भएको बताउनुभयो । वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्ने सबैभन्दा ठूला व्यक्ति कंसाकार नै भएको दाबी गर्दै उहाँले भनुभयो, ‘सुगतरत्न कंसाकार भ्रष्टाचारको महानायक हो, भ्रष्टाचारीलाई जसरी पनि कारबाही हुनुपर्छ ।’
शुक्रबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद यादवले कंसाकार पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि तगडा रहेको बताउदै उहाँको विरुद्धमा कर्मचारीहरु पनि बोल्न डराउने यादवले उल्लेख गर्नुभयो ।

सांसद यादवले , ‘मन्त्री रवीन्द्र अधिकारीले कंसाकारसमेतलाई राखी कर्मचारीहरुलाई उनीविरुद्धमा नबोल्नु बरु सहयोग गर्नु भनेको कुरा मलाई मलाई एकजना कर्मचारीले बताएका छन् ।’ उहाँले वाइडबडी प्रकरणमा प्रमुख भूमिका सुगतरत्नसँगै अन्यकोसमेत भूमिका रहेको र विमान खरिद गरेको केही महत्वपूर्ण कागज सुगतरत्नले लुकाएको समेत दाबी गर्दै ती सबै कागजहरु जे–जसरी भए पनि माग गर्नुपर्ने आवाज उठाउनुभयो ।
सांसद यादवले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई समेत कारबाही हुनैपर्ने बताउदै मन्त्री रविन्द्र अधिकारी भए उहाँलाई घुमाउने र नचाउने व्यक्ति सुगतरत्न भएको भन्दै दुबैलाई कारबाही हुनुपर्ने दावी गर्नुभयो । मन्त्री अधिकारीले भ्रष्टाचारीहरुको संरक्षणमा संसद र संसदीय समितिमा समेत झूटो बोलेर नैतिकता चुकाएको भन्दै त्यसको भागीदार बन्नुपर्ने विचार राख्नुभयो ।
उपसमितिको प्रतिवेदन पूर्वाग्राही भएको हो कि भन्ने प्रश्नमा विवेचना गर्दै सांसद यादवले ‘सरकारका मुखिया प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्नुभएको र उपसमितिले उहाँकै चाहानाअनुसार काम गरेको कसैलाई काखा र कसैलाई पाखा नगरिएको बताउनुभयो ।
नेकपाकै सांसद विशाल भट्टराईले सुगतरत्नलाई बर्खास्ती नगरिएकोमा आपत्ति जनाउदै भन्नुभयो, भ्रष्टाचार भएको र त्यसमा सुगतरत्नको भूमिका ठूलो देखिइसकिएपछि पनि किन बर्खास्त नगरिएको ?
भ्रष्टाचार भएको विषय सबैलाई थाहा भएको र नैतिकताका आधारमा पनि सुगतरत्नले पदमा बस्न नमिल्ने भन्दै भट्टराईले यथाशीघ्र बर्खास्तीको माग गनुभयो । ‘मैले सुगतरन्त जीलाई यहीँ बैठकमा पहिले नै भनिसकेको छु कि नैतिकताका आधारमा तपाईलाई पदमा बस्ने कुनै आधार छैन’ सांसद भट्टराईले भन्नुभो, ‘त्यतिभन्दाभन्दै पनि वहाँले राजीनामा दिनुभएन ।’
उहाँले स्वभाविक रुपमा राजीनामा नदिएपछि बर्खास्ती गर्न मन्त्री अधिकारीलाई समेत आग्रह गरेको भन्दै त्यो पनि नहुँदा दुःख लागेको बताउनुभयो । ‘मैले मन्त्रीज्यूलाई चोरऔंला ठड्याएर राजीनामा नदिए सुगतरत्नजीलाई बर्खास्त गर्नु भनेको थिएँ, तर भएन ’ उहाँले दुःख मनाउ गर्दै भन्नुभयो ।
सांसद भट्टराईले ‘अन्तिम किस्ता नपठाएको भए मन्त्री अधिकारीले विमान ल्याउन दिएन, कमिसन नपाएर रकम पठाएन’ भनेर भन्ने अवस्था पनि थियो ।
अर्का सांसद सूर्य पाठकले पनि सुगतरत्न नै मेन डिजाइनर भएको बताउनुभयो । सुगतरत्न वाइडबडी खरिद प्रकरणका मुख्य मान्छे भएको थाहा हुँदाहुँदै उनीसँगै अरुलाई दाँज्नु गलत भएको सांसद पाठकले बताउनुभयो । उहाँले उपसमितिले तयार पारेको प्रतिवेदन अपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख गर्नुभयो । प्रमुख दोषी भनिएका व्यक्तिहरुलाई उपसमितिले एकपटक पनि नसोधेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।





















