वाशिड.टन डीसी.(संयुक्त राज्य अमेरिका),७ माघ । नेपालमा चिकित्सा शिक्षालाई गुणस्तरीय र सुलभ बनाउने माग सहित १६ औं पटक आमरण अनशनमा बस्नुभएका त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि युएस नेपाल पोलिसी रिसर्च सेन्टरले नेपाल सरकारसंग अपिल गरेको छ ।
सस्थाको तर्फबाट अध्यक्ष आमोद पोखरेलसहित ८ जना पदाधिकारी र सदस्यहरुले आइतबार एक संयुक्त विज्ञप्तिमा जारी गर्दै अनशनरत डा. केसीका जायज माग अबिलम्ब पूरा गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘डा. के सी को स्वास्थ्य अवस्था र सरकारको उदासिनताप्रति युएस नेपाल पोलिसी रिसर्च सेन्टर को गम्भिर ध्यानाकर्षण भएको छ ।’
नेपालमा स्वास्थ्य शिक्षा गुणस्तरीय र सुलभ बनाउनका लागि लामो समय देखि संघर्षरत डा। गोबिन्द के सी सँग ६ महिना अघि प्रधानमन्त्री स्वयंले गरेको संझौता अनुरुप नै संसदबाट चिकित्सा शिक्षा बिधेयक पारित हुनुपर्ने माग राखी १६ औं अनसनमा हुनुहुन्छ ।
“नेपाल सरकारले तत्काल वार्ता टोली गठन गरी डाक्टर केसीसँग संबाद स्थापित गरेर उहाँको जिवन रक्षार्थ अनशन तोडाउन यथाशीघ्र पहलकदमी लिन माग गर्दछौं ’,सेन्टरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
सेन्टरले ‘सरकार आफैले गरेको सहमति अनुरुप आम नेपाली को चाहना अनुसारको चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गराउन दुइतिहाइको बहुमत प्राप्त सरकारका लागि संसदीय पद्दति र ६ महिना अघि डा. के सी संग संझौता को आफ्नै हस्ताक्षर को गरिमा कायम राख्न पनि आग्रह गरेको छ ।
संसदीय पद्दतिमा दुइतिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले सरकारले चाहे जस्तो बिधेयक पारित गरी कानून बनाउन सक्ने सबैले बुझेको सत्य भएको जनाउदै जनस्वास्थ्य र शिक्षा जस्तो राज्यको मुख्य दायित्व भएको र जनचासो भएको विषयमा वर्तमान सरकार गैर जिम्मेवार बन्न नमिल्ने पनि सेन्टरले विज्ञप्तिमा उल्लेख गरेको छ ।
डा.के.सी.को जीवर रक्षाको अपीलमा सेन्टरका अध्यक्ष,डा. आमोद पोख्रेल, सचिव डा. अर्जुन बन्जाडे,सदस्यहरुडा. राजन पन्त, दीनबन्धु भट्ट, डा.देश राज संयोक,जगदम्बा अधिकारी, डा.कविता खरेल र प्रवक्ता तरुण पौडेलले हस्ताक्षर गर्नुभएको छ ।


















