लण्डन(संयुक्त अधिराज्य), ७ माघ(बीबीसी) । विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूलेआज रातो रङ्गको देखिने ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन्।
निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपमा रहेको चन्द्रमा निकै रातो रङ्गको देखिने वैज्ञानिकहरूको भनाइ छ।
पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ।
पूर्ण चन्द्रग्रहण भनेको के हो?
सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ।
यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ।
चन्द्रमा रातो देखिएला?
हो त्यस्तै हुनेछ। केही टिप्पणीकारहरूले आज रातिको पूर्ण चन्द्रग्रहणलाई ‘सुपर ब्लड वुल्फ मुन’को संज्ञा दिएका छन्।
‘सुपर’ भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था बुझ्नु पर्दछ।
जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ ‘वुल्फ’ भन्ने गरिएको छ।
अमेरिकाको न्यू योर्क राज्यको सिरक्युज विश्वविद्यालयका सहायक प्राध्यापक वाल्टर फ्रिम्यानले भने, “पृथ्वीको वायुमण्डलबाट छरिएको थोरै सूर्यको प्रकाश चन्द्रमामा पुग्न जान्छ। त्यो फेरि पृथ्वीको धार वरिपरि वाङ्गिन जान्छ। त्यस्तो बेला देखिने रातो प्रकाश चन्द्रमामा पर्न गएको हामीले स्पष्ट रूपमा देख्न सक्छौँ।”
यो कहाँ र कहिले देख्न सकिएला?

चन्द्रग्रहण सोमबार ग्रेनिच समय (जीएमटी) अनुसार ०२:३५ देखि ०७:४९ बजेसम्म देखिने छ। तर पूर्ण चन्द्रग्रहण चाहिँ ०५:१२ जीएमटीमा देख्न सकिनेछ।
ब्रिटेनमा चाहिँ चन्द्रग्रहणको लगभग पूरै अवधिमा चन्द्रमा क्षितिजमाथि नै देखिनेछ।
यो चन्द्रग्रहण उत्तरपश्चिमी फ्रान्स, उत्तरपश्चिमी स्पेन, पोर्चुगल र पश्चिम अफ्रिकाको केही भाग, पूरै उत्तर र दक्षिण अमेरिका, पूर्वी प्रशान्त क्षेत्र र रुसको उत्तर पूर्वी टुप्पोबाट पनि देख्न सकिनेछ।
चन्द्रग्रहण हेर्नु सुरक्षित होला?
सूर्यग्रहणलाई सीधै हेर्नु खतरनाक हुनसक्छ। तर चन्द्रग्रहणको बेला निस्किने प्रकाश निकै मधुरो हुने भएकोले चन्द्रग्रहणलाई कुनै उपकरणको सहयता विना नै हेर्न सकिन्छ। त्यो पूरै सुरक्षित हुन्छ।
यस्को महत्त्व के छ?
यो चन्द्रग्रहण देखिने क्षेत्रमा बसोबास गर्ने मानिसले सम्भवत सन् २०२९ सम्ममा फेरि यस्तै खालको चन्द्रग्रहण देख्न सक्ने छैनन्। तर त्यो मौसमी अवस्था कस्तो हुन्छ भन्ने कुरामा निर्भर हुन्छ।


















