Prakash Adhikari January 21, 2019

काठमाडौं, ७ माघ । सोमबार बोलाइएको राष्ट्रिय सभाको दोस्रो बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको अर्को बैठक प्रधानमन्त्री के.पी.शर्मा ओली स्वीजरल्याण्डबाट फर्किएपछि अर्को सोमबार मात्र हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई आर्थिक नाकाबन्दी गरि बन्द गराउने षड्यन्त्र गरेपछि नेपाली कांग्रेसले सो भेदभावविरुद्ध आवाज उठाउदै दुवै अस्पताललाई गठन आदेश अनुरुप सञ्चालन हुने व्यवस्था गर्ने माग गर्दै आएको छ ।

नेपाली कांग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो । काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गर्नुभएको हो । मन्त्रिपरिषद्संग सम्बन्धित विषय भएकोले यसमा प्रधानमन्त्रीको परामर्श आवश्यक भएकोले एक हप्ता पर धकेलिएको अनुमान गरिएको छ । प्रधानमन्त्री ओली स्वीजरल्याण्डको ७ दिने भ्रमण पूरा गरि यही माघ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सोमबार राष्ट्रिय सभाको पहिलो बैठक सुरु हुनेवित्तिकै नेपाली काँग्रेसका सांसद्हरुले उठेर विरोध जनाएका थिए । सत्ता पक्ष र प्रतिपक्षबीच सहमति कायम नभएपछि शुरु भएको दोस्रो बैठकमा पनि काँग्रेसले उठेर विरोध जनाएका कारण बैठक स्थगित गर्नुपरेको हो । नेपाली कांग्रेसको विरोध नरोकिएपछि काँग्रेस सांसद् सरिता प्रसाईँलाई बोल्नको लागि समय दिईएको थियो। प्रसाईँले आफ्नो ४ मिनेटको भाषणमा सरकारले प्रतिपक्षलाई कमजोर सम्झिएको र आफू देशको सदाबहार सत्तामा आउने पार्टी जस्तो सम्झिएको आरोप लगाउनुभयो।

काँग्रेसले संसद अवरुद्ध गर्नुको मूल कारण केही दिन अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमति स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्ने छ।

संसदमा विरोध गरिनुको कारण बारे बोल्दै नेतृ प्रसाईँले सरकारको विकासका काममा असहयोग नहोस् भनेर काँग्रेसले आलोचना र विरोधलाई कम गरेको बताउँदै त्यसलाई सत्ता पक्षले कमजोरीको रुपमा लिएको आरोप लगाउनुभयो। उहाँले सत्तापक्षको यस्तै रबैया चलिरहे आफूहरु सडक आन्दोलनमा जान समेत तयार रहेको चेतावनी समेत दिनुभयो।

उहाँले देशमा दण्डहीनता बढेको, बलात्कारका घटना बढेको र सरकारले विकासको काममा गति दिन नसकेको बताउदै नेपाली कांग्रेसले आफू सरकारका रहदा प्रतिपक्ष वा अन्य विपक्षीका नाममा खुलेका संघ संस्थामा भेदभाव नगरेको बताउनुभयो ।

Share Now

Leave a comment.