डाभोस.(स्वीजरल्याण्ड), ९ माघ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्वीजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक मञ्चको सम्मेलनमा सामुहिक छलफलमा सहभागिता जनाउनुभएको छ । सामुहिक छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकार रहेको र लगानीमुखी नीतिहरु तय गरिएकोले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आव्हान गर्नुभएको छ।
दक्षिण एशियाको सामरिक परिदृष्य विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारत र चीनलाई जोड्न नेपालले रेल र जलमार्गको निर्माण र सञ्चालनको प्रयास भैरहेको उल्लेख गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य साकार पार्न सरकार हरतरहले लागि परेको बताउनुभयो।उहाँले नेपालले छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणलाई गति दिएको बताउनुभयो।
नेपालले संविधानसभाबाट नयाँ लोकतान्त्रिक संविधान जारी गरी त्यसलाई कार्यान्वयन गरिरहेको उल्लेख गर्दै उहाँले विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।
‘समृद्ध नेपाल तथा सुखी नेपाली’को सपना साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताउनुभयो।
महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको दाबी गर्नुभयो।
दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र हो भन्दै प्रधानमन्त्री ओलीले सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवं जैविक विविधता रहेको उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रको अति उर्वर भूमि र उत्पादनशील जनसङ्ख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउनुभयो।
नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानून जारी भएको उहाँले बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति नेपाल आउन लगानीकर्ताहरुलाई आह्वान गर्नुभयो।
प्रधानमन्त्री ओलीले नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै नेपालले हालै आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको पनि चर्चा गर्नुभयो ।
उहाँले देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले रोजगारीको खोजीमा धेरै बेरोजगार युवा विदेशिएकाले उनीहरुलाई स्वदेश फर्काउन आफ्नो सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउँदै उनले उनीहरुको सीपको उपयोग गर्न चाहेको जानकारी पनि गराउनुभयो।
उहाँले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।
उक्त सत्रमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम जी. राजन, नर्वेको सिग्भी ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भाग लिनुभएको थियो।
बैठकमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको पनि उपस्थित थियो।


















