Prakash Adhikari February 10, 2019

धनगढी(कैलाली),२६ माघ । रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन शनिवार सम्पन्न भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुने डीपीएल तेस्रो संस्करणको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच गर्नुभएको थियो।

बर्षाका कारण लिग अन्तरगतका प्रतियोगिताका खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको हो । खेलको संशोधित तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।

डीपीएलको पुरस्कार राशीमा यस पटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनौला जुत्ता(, प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्टिय क्रिकेट मैदान निर्माण अभियान (ड्रिम फाप्ला)लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।

डीपीएलको उद्घाटन गर्दै सुदुरपश्चिम सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाष शाहीले प्रतियोगिताको आयोजनापछि देशभर नै क्रिकेटमय भएको बताए । उनले डीपीएलपछि धेरै प्रतियोगिता हुँदा यसले खेलाडी उत्पादनमा टेवा पुराईरहेको बताउनुभयो । फाप्लामा अन्तराष्ट्रिय मैदान निर्माणका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम मार्फत अगाडी बढ्ने र त्यसका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

डीपीएलमा सदा झैँ ६ टोलीले उपाधिका प्रतिस्पर्धा गर्दैछन् । यसपटक धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् ।

Share Now

Leave a comment.