काठमाडौं, १० पौष । नेपाली कांग्रेसका संगठनहरुले सरकारले सिफारीस गरी अनुमोदनको लागि पठाएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्या भण्डारीलाई दबाव दिएका छन् ।
कांग्रेससँग आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी कानून व्यवसायी संघ नेपाल र नेपाल दलित संघले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाव दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले राष्ट्रपतिबाट अध्यादेश तत्काल जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी दिएकी थिइन् ।
कांग्रेसका भातृ संगठनहरुले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधान विपरित चल्न खोजेको आरोप समेत लगाएका छन ।
कांग्रेस भातृ संगठनहरुले राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी नगरेकै कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढन कठिनाई भइरहेको तर्क पनि गरेका छन् ।
यस पूर्व नै राष्ट्र्पति माथि दबाव सिर्जना गर्न नेपाल विद्यार्थी संघले प्रदर्शन समेत गरिसकेको छ ।
यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा महिला संघका करिब एक दर्जन निवर्तमान केन्द्रीय सदस्यहरुले संविधानले संघीय व्यवस्थापिकाको रुपमा दुवै सदनलाई स्वीकार गरेको र संघीय व्यवस्थापिकामा एक तिहाई महिला अनिवार्य रहनुपर्ने प्रावधान पूरा गर्न राष्ट्र्यि सभा गठन गर्न अध्यादेश अपरिहार्य भएको उल्लेख गर्दै तुरुन्त अध्यादेश जारी गर्न राष्ट्र्पतिसंग आग्रह गरेका छन् ।