Prakash Adhikari February 19, 2019

काठमाडौं, ७ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यताको आत्मसात गरेर अगाडि बढन सबैलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सो सन्देश दिनुभएको हो । उहाँले भन्नुभएको छ,’आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

राष्ट्रपति भण्डारीले २००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गर्दै भन्नुभएको छ , प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धीहरु हासिल गरेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो ।

उहाँले नेपालको संविधान, २०७२ का सबै प्रावधानहरु लागू हुँदै गएको बताउदै “समृद्ध नेपाल सुखी नेपाली” सबै नेपाली जनताको चाहना भएकोले यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप उर्जा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्र दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.