काठमाडौं, ७ फागुन । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानलाई अझ बढी भरपर्दो र सुरक्षित बनाउन एकीकृत सञ्चालन नियन्त्रण कक्ष( आईओसीसी) स्थापना गर्ने भएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यसको जानकारी दिनुभएको हो ।
अहिले निगमले अपरेसन कन्टोल सिस्टममात्र सञ्चालन गरिरहेको छ । यस प्रणाली अन्तरगत एअरपोर्टमा रहने निगमको नियन्त्रण कक्षले अन्तर्राष्ट्रिय उडानमा रहेका आफ्ना जहाँजका पाइलटसंग प्रत्यक्ष कुराकानी गर्न सघाउछ । पाइलटलाई कुनै समस्या आइपर्यो भने नियन्त्रण कक्षमा रहेका जानकार प्राविधिकहरुले त्यसको समाधानका लागि अपनाउनु पर्ने आवश्यक कदमका बारेमा सुझाब र निर्देशन दिन्छन् ।
निगमसंग अन्तर्राष्ट्रिय उडानमा अहिले एअरबस निर्मित ३३० सेरिजका २७४ सिट क्षमताका दुई वाईडबडी र ३२० सेरिजका दुई न्यारो बडी र एउटा ७५७ सेरिजको बोइड. जहाज रहेका छन् ।
एअरबसमा निर्मित ४ वटा जहाज अन्तर्राष्ट्रिय उडानमा रहेकोले ती जहाजको उडानलाई अधिक सुरक्षित बनाउन जहाज निर्माता एअरबसले मेन्टेनेन्स कन्टोल सिस्टम पनि सञ्चालनमा ल्याउन अनुरोध गरिरहेको छ ।
मेन्टेनेन्स कन्ट्रोल सिस्टम र अपरेसन्स कन्टोल सिस्टम दुवैलाई एकसाथ सञ्चालन गर्न सकिन्छ । यसका लागि एअरबसले उत्पादन गरेका एअरम्यान भन्ने सफ्टवेयर उपकरण प्रयोग गर्नुपर्दछ ।
जसरी अपरेसन्स कन्टोलमा पाइलटलाई नियन्त्रण कक्षमा रहेका प्राविधिकले सुझाव र निर्देशन दिन्छन त्यसरी नै मेन्टेनान्स कन्टोल कक्षमा रहेका मर्मतसंभारका विज्ञले उडीरहेका जहाजमा पार्टपुर्जामा केही खराबी आए उडानमा रहेका उडान इन्जिनियरलाई प्रत्यक्ष सम्पर्क गरि कुन उपकरणलाई कसरी मर्मत गरि जहाजलाई सुरक्षित रुपमा गन्तव्य वा नजिकको हवाई मैदानमा अवतरण गराउन सकिन्छ भन्ने निर्देशन दिनेछन् । यसले मध्य आकाशमा झण्डै ४० हजार फिटको उचाईमा उडिरहेका जहाजको उडानलाई झन सुरक्षित बनाउने कार्यकारी अध्यक्ष खरेलको दावी छ ।
ओसाका र ग्वान्जाओ उडानको व्यापक तयारी
निगमको अपरेसन्स विभागले दिएको जानकारी अनुसार निगमको व्यवस्थापन अहिले जापानको ओशाका र चीनको ग्वान्जाओ शहरमा उडान विस्तार गर्न अहोरात्र खटिएको छ । निगमले आफ्नो बेडमा आएका ३३० सेरिजका दुई ठूला आकारका वाइड बडीका जहाजलाई पर्याप्त ब्यापार दिएर आफ्नो आम्दानी बढाउन जापानको ओशाकामा फेब्रुअरी र ग्वानजाओमा मार्चमा नियमित व्यवसायिक उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
निगमको व्यवस्थापन र सञ्चालक समितिका केही सदस्यहरुकाबीचमा जापानको ओशाका शहरमा सेवा सञ्चालन गर्ने कि टोकियोको नारिता विमानस्थलमा भन्ने विषयमा मतभेद भएर यसको तयारीमा ढिलाई भएको बुझिएको छ । निगमका अध्यक्ष खरेलले भन्नुभयो, ‘केही सदस्यहरुले टोकियो पाइन्छ भने त्यतै उडाउनुपर्छ भन्ने मान्यता राखेर आफ्ना सम्पर्कका साथीभाईलाई यसको तयारी गर्न पनि सल्लाह दिनुभएकोले यसमा विलम्ब हुन गएको हो तर टोकियोमा नयाँ सेवा सञ्चालन हुने र ओशाकामा पहिले स्थगित सेवा सुचारु मात्र गरिने भएकोले नयाँमा जान भन्दा हाम्रालागि जापान सेक्टरको पुनसञ्चालन नै सुगम पनि हुने,छिटो पनि हुने र हाम्रा विमानकोे व्यापार पनि पाउने भएकोले हामीले टोकियोका नारिता भन्दा ओशाकाको कान्साईलाई पहिलो प्राथमिकता दियौ । सोही अनुसार तयारी भएको छ ।’
उहाँले छिट्टै उताबाट अनुमति आउने आशा व्यक्त गर्नुभएको छ । ओशाका एअरपोर्ट अथोरिटीले एकबर्षसम्म ल्याण्डिड. पार्किड. शुल्क नलिने र त्यसपछि पनि भारी छुट दिने बचन दिएकोले निगम व्यवस्थापनले टोकियोतिर मन डुलाउन आवश्यक नदेखेको हो ।
निगमले ओशाका संगसंगै नेपाली व्यापारीहरुको अधिक आवातजावत हुने चीनको ग्वान्जाओ शहरमा पनि नयाँ सेवा विस्तारको तयारी गरेको छ । यो पनि एकमहिनाभित्र सुचारु हुन सक्ने अध्यक्षको दावी छ ।
निगमले ओशाका र ग्वान्जाओको सेवा सुचारु भएपछि हाल दैनिक ६ देखि ७ घण्टाको उडानमा रहेका निगमका वाइडबडीका जहाजको उडान दैनिक १३ देखि १४ घण्टा पुग्ने र आम्दानी बढ्दै जाने विश्वास लिएको छ ।
युरोपेली संघले आफ्ना सदस्य राष्ट्रहरुमा नेपाल वायुसेवा निगमका उडानलाई उडन प्रतिवन्ध लगाएको कारणले तत्कालका लागि निगमले यूरोप क्षेत्रमा गन्तव्य विस्तारलाई प्राथमिकतामा राखेको छैन तर ईयूको सरोकार रहेका सुरक्षा सम्बन्धी विषयलाई भने सुधारेर नागरिक उड्डयन प्राधिकरणलाई यसको प्रमाणिकरण गर्न अनुरोध भने गर्दै आएको छ । निगमको हवाई उडानसम्बन्धमा अबलम्बन गरेका सुरक्षा प्रबन्धबाट सन्तुष्ट भएर प्राधिकरणले हालैमात्र निगमलाई जापानमा उडानको अनुमति पत्र दिएको छ ।
निगमले ओशाका र ग्वान्जाओको उडान सुचारु गरेपछि तुरुन्तै साउदी अरबको रियाद, दक्षिण कोरियाको सिओल र इजराइलको तेलअभिभमा उडान थाल्ने तयारी गर्ने छ ।
किस्ता यसरी तिरिदैछ
१० बर्षको उपयुक्त व्यवसायिक योजना विना, खरिद गरिने जहाजको १५ बर्षको लाइफ साइकलको आधारमा लाभहानीको मूल्यांंकन नै नगरिकन २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड अनियमितता गर्ने निहित स्वार्थले ल्याइएका वाइडवडीका जहाज अझै पनि निगमका लागि बोकाको मुखमा कुभिण्डो भएको छ ।
यो समस्यालाई समाधान गर्नका लागि निगमले जहाज ल्याउन जमानी बसेको सरकारलाई निगममा सञ्चालन पूँजीको रुपमा २०अर्ब रुपैया शेयर स्वामित्वस्वरुप थप्न अनुरुोध गरेको छ भने अर्कोतर्फ आफ्ना विमानहरुको अत्यधिक उपयोग गर्दै आम्दानी बढाउने र खर्च घटाउने नीति अबलम्बन गरि वाइडबडीका नयाँ दुई वटा जहाज र पहिले किनिएका न्यारो बडीका दुई जहाजको साँबा र ब्याज भुक्तानी गरिरहेको छ ।
निगमको अर्थ विभागले दिएको जानकारी अनुसार निगमले न्यारो बडीको पुससम्मको १३ औं किस्तामा लाग्ने सम्पूर्ण रकम ३३ करोड ९ लाख भुक्तानी गरेको छ भने वाइडबडीको दोस्रो किस्ता स्वरुप नागरिक लगानी कोषलाई ९ करोड ५० लाख साँँबा तिरेको छ । बाँकी रकम नेपाल सरकार अर्थमन्त्रालयले तिरिदिने र सो रकम पछि शेयरमा कन्भर्ट गर्न समझदारी भएको छ ।
निगमको अर्थ विभागले निगमको आर्थिक अवस्था अहिलेभन्दा ६ महिना पहिले दयनीय भएको दावी गरेको छ । निगमसूत्रले दिएको जानकारी अनुसार गत असोज मसान्तमा ३३० जहाजको पहिलो किस्ता र ३२० जहाजको बाह्रौ किस्ता साँवा व्याज बुझाउदा निगमले हिमालयन बैकसंग ५० करोड र कर्मचारी सञ्चय कोषसंग २० करोड ओभर डाफ्ट लिएर ८२ करोड तिरेको थियो ।
त्यसयता निगमको व्यवस्थापनमा सुधार आई कोषमा ५८ करोड जम्मा भएको र सोही रकम परिचालन गरि जहाजहरुको साँबा र व्याजको किस्ता बुझाइएको र निगम सञ्चालनका लागि झण्ड साढे नौ करोड रुपैया बचत रहेको पनि निगम व्यवस्थापनको दावी छ । निगम व्यवस्थापनले सञ्चालन खर्चको दायित्व पुस मसान्तसम्म जम्मा ३२ करोड २० लाख मात्र रहेको पनि स्पष्ट पारेको छ ।
निगम व्यवस्थापनले थप ५० नयाँ पाइलट लिने प्रक्रिया पनि बढाएको छ भने निगमबाट सेवाअवधि पुरा भएर वा विभिन्न कारणले वीचमै सेवा छोडेर बाहिरिएका पाइलटलाई पनि सेवामा लिएर भैरहेका जहाजहरु अधिकतम् समय उडाउन प्रयास भैरहेको जनाएको छ ।
त्यस्तै ३३० विमानको लाई मर्मत संभारको काम शुरुमा बेलायतको बीसीटी भन्ने कम्पनीले गरेकोमा सो काम अहिले निगमको इन्जिनियरहरुबाट भैरहेको पनि दावी गरेको छ ।