नयाँदिल्ली(भारत),१४ फागुन(बीबीसी)। भारतले भारत-पाकिस्तान सीमारेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ।
भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश-ए-मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको छ।
यसअघि भारतीय वायुसेनाका विमान पाकिस्तानी आकाशमा छिरेका तर पाकिस्तानी पक्षले प्रतिकार गरेपछि ती विमानहरू भागेको दाबी पाकिस्तानी सेनाले गरेको थियो।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरका अनुसार “भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन।”
भारतीय विदेशसचिव गोखलले गुप्तचरी सूचनाका आधारमा सो कारबाही गरिएको बताएका छन्।

फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीलाई लक्ष्य गरी जैश-ए-मोहम्मदले एउटा आत्मघाती आक्रमण गरेको थियो।
सो घटनामा ४६ भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो।
भारतीय वायुसेनाका सूत्रहरूले पनि बीबीसी हिन्दीसँग भारतीय वायुसेनाका विमानहरू नियन्त्रणरेखापारि गएका र केही स्थानमा आक्रमण भएको स्वीकारेका छन्।
Indian aircrafts’ intrusion across LOC in Muzafarabad Sector within AJ&K was 3-4 miles.Under forced hasty withdrawal aircrafts released payload which had free fall in open area. No infrastructure got hit, no casualties. Technical details and other important information to follow.
— DG ISPR (@OfficialDGISPR) February 26, 2019
Payload of hastily escaping Indian aircrafts fell in open. pic.twitter.com/8drYtNGMsm
— DG ISPR (@OfficialDGISPR) February 26, 2019
वायुसेना अधिकारीहरूका अनुसार सो कारबाहीका लागि मङ्गलवार बिहान तडके अम्बालाबाट केही मिराज विमानहरू उडेका थिए।
तर अन्तर्राष्ट्रिय सीमा उल्लङ्घन नगरी लक्ष्यित स्थानमा बम खसालिएको उनीहरूको दाबी छ।
जैश-ए-मोहम्मदले भारतमा फेरि आत्मघाती आक्रमण गर्ने तयारी गरिरहेको सूचना पाएपछि सो कारबाही गरेको दाबी गोखलेको छ।

सो शिविरमा जैश-ए-मोहम्मदका उग्रवादी, प्रशिक्षक, कमान्डर र आत्मघाती आक्रमणका लागि प्रशिक्षण लिइरहेका लडाकुहरूलाई मारिएको र सर्वसाधारणलाई हानि नपुगोस् भनेर कारबाहीका बेला विशेष ध्यान पुर्याइएको उनले बताए।
भारतीय वायुसेनाले आक्रमण गरेको शिविर जङ्गलभित्र रहेको बताइएको छ।
किन चर्कियो तनाव?
कश्मीरको पुलवामामा भएको आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ। त्यसपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए।
पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमाथि आक्रमण भए प्रतिकार गर्ने बताएका थिए।

कश्मीरमा सन् २०१६ पछिको ठूलो आत्मघाती हमला
वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका थिए।
कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।


















