दुबाई(संयुक्त अरब इमिरेट्सं), १५ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले आज पाकिस्तान सुपर लिगमा तेस्रो खेल खेल्दैछन् । आज सन्दीप आबद्ध लाहोर क्वालन्दर्स टिमले क्वेटा ग्लडियटर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
खेल दुबाई क्रिकेट मैदानमा साँझ ५ :१५ बजे आरम्भ हुनेछ ।
टिमले छैटौं खेल खेल्न लागेपनि ढिला गरि पीएसएल खेल्न यूएई पुगेका सन्दीपको यो तेस्रो खेल हो । लाहोर क्वालन्दर्सबाट खेलिरहेका सन्दीपले पछिल्ला २ खेलमा ४ विकेट लिइसकेका छन् । उनले मुल्तान सुल्तानका विरुद्ध भएको लाहोर क्वालान्दर्सको खेल जुन उनको डेब्यू खेल थियो, त्यसमा ३ विकेट लिए भने फागुन ११ मा क्वेटा ग्लाडियटर्सका विरुद्ध भएको खेलमा १ विकेट लिएका थिए ।
क्वेटाका विरुद्ध लाहोर क्वालान्दर्सको यस अगाडि पनि यो संस्करणमा भेट भएको छ । अघिल्लो खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको लाहोरले दिएको १ सय ४४ रनको लक्ष्य क्वेट्टाले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्दै ३ विकेटले जितेको थियो ।
लाहोर क्वालन्दर्स अहिलेसम्म खेलिएका ५ खेल मध्ये २ खेलमा जित हात पार्दै ४ अंक जोडेको छ भने क्वेटा ग्लाडियटर्सले समान ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित अंक तालिकाको शीर्षमा स्थान बनाएको छ । यो खेल जितेमा लाहोर ६ अंकसहित दोस्रो या तेस्रो स्थानमा उक्लिनेछ ।


















