सौराहा(चितवन),११ पौष । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं चितवन हात्ती महोत्सवको एक भव्य कार्यक्रमका बीच मंगलबार समुद्घाटन गरेका छन् ।
क्षेत्रीय होटल संघ चितवनद्धारा आयोजित सो कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले नयाँ संविधान अनुरुप स्थानीय,प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन भएकोले अब नेपाल राजनीतिक स्थायित्वको युगमा पदार्पण गरेकोले अब सबैको लक्ष्य आर्थिक समृद्धि भएको बताए ।
उनले नेपाली जनताको आर्थिक समृद्धिको चाहनालाई पूरा गर्न पर्यटन एक महत्वपूर्ण क्षेत्र रहेकोले यस क्षेत्रमा रहेका संभावनाहरुको अधिकतम उपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
अहिले मुलुक विदेशमा काम गर्न विवस नेपालीहरुको पसिनाको कमाईमा निर्भर रहन पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले पर्यटनको विकास भएमा स्वदेशमा नै रोजगारी सिर्जना हुने पनि बताए ।
उनले विदेशी पर्यटकहरुलाई खुसी र सन्तुष्ट पारेर अर्थतन्त्र बलियो बनाउने पर्यटन क्षेत्रलाई सबैले गम्भीर रुपमा लिएर काम गर्नुपर्ने पनि बताए ।
आफ्नो उद्घाटन भाषणमा प्रधानमन्त्री देउवाले आफू नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया पूरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू केन्द्रित भएको पनि स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले काग्रेंस नेतृत्वको सरकारले प्रदेश र संघको निर्वाचन गराउन सफल भएको पनि स्मरण गराए ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढिकरण गरी मुलुकको समग्र विकास गर्न नेपाली काँग्रेस लागि परेको दावी पनि गरे ।