काठमाडौं, १७ फागुन । नेपालको निजी क्षेत्रको विश्वसनीय हवाई सेवा प्रदायक यति एयरलाइन्स र तारा एयरलाइन्सले शुक्रबार आफ्ना सबै उडान बन्द गर्ने भएका छन्।
एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुड.मा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएको शोकमा दुवै विमानले शुक्रबारका सम्पूर्ण उडान स्थगन गर्ने निर्णय गरेका हुन् ।
साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीमा विशेषज्ञको रुपमा पुग्नुभएका एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पाको पनि पाथीभरा देवीको दर्शन गरि फर्कने क्रममा मन्त्रीसवार हेलिकप्टर दुर्घटना परि निधन भएको थियो ।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो।