सानेपा(ललितपुर),२३ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत्र ४ गते सोमबार बस्ने भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार बैठक विहान ११ः०० बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने छ ।
नेपाली कांग्रेसले सो बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरेको छ ।
नेपाली कांग्रेसमा महासमितिबाट अनुमोदित विधान सर्वसम्मतिले पारित गर्ने विषयमा विवाद देखा परेको छ । हालै बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले बहुमतले संशोधित विधान पारित गरेपछि संस्थापन विरोधी समूहले त्यसको विरोध गरेको छ ।
पार्टीको विधानलाई सर्वसम्मत ढंगले पारित गर्ने अधिकतम् प्रयास नगरेर महासमितिको भावना विपरित बहुमतले पारित गरेको भन्दै पार्टीका ५६ जिल्ला समितिका सभापतिहरुले त्यसलाई सच्याउन माग गरेका छन् र त्यसरी नसच्चिएमा विशेष अधिवेशन आह्वान गर्ने चेतावनी पनि दिएका छन् ।
५६ जना जिल्ला सभापतिहरुले लिएको अडानलाई नेपाली कांग्रेसका संस्थापन विरोधी समूहले पनि साथ दिएको छ ।

बुधबार नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकले विधान जस्तो विषयमा आफैले मनोनित गरेका केन्द्रीय सदस्यको बाहुल्य रहेको केन्द्रीय समितिमा बहुमतको आधारमा निर्णय गरिएको,नेपाल विद्यार्थी संघको तदर्थ समितिको गठन र पार्टीका अनुशासन लगायत समिति र विभागहरुको गठन पनि पेलेर गर्न खोजिएको त्यसका पनि विरोध गरेको छ ।
असन्तुष्ट र संस्थापन इतर समूहले पार्टी सभापति र संस्थापन पक्षको यस्तै रवैया रहेमा पार्टीको विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन बोलाउने तयारी हुने पनि बताएको छ ।


















