Prakash Adhikari March 7, 2019

‏माधव नेपाल/ बीबीसी नेपाली सेवा

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ।

बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’को घर भएको क्षेत्र हो।

विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।

प्रहरीले उक्त घरबाट केही हातहतियार बरामद गरेको बताएको छ।

छापा मार्दा के भेटियो?

स्थानीय बासिन्दा, विद्यार्थी र प्रहरीबीच धकेलाधकेल हुँदा दुई प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रवि रावलले बताए।

उनले भने, “प्रहरी र सशस्त्र प्रहरीको टोली सूचनाको आधारमा विप्लवका कार्यकर्तालाई पक्राउ गर्न पुगेको थियो। तर त्यहाँ स्थानीय विद्यार्थीलाई मानवढालको रूपमा प्रयोग गरेको देखियो।”

प्रहरीलाई रोके विद्यार्थीले

रावलका अनुसार त्यसअघि हतियार लुकाइएको घरमा छापा मार्ने क्रममा एक व्यक्ति सो घरवाट भागेपछि प्रहरीले गोली चलाएको थियो।

देब्रे घुँडामाथि गोली लागेर ती व्यक्ति घाइते भएका छन्।

उनलाई उपचारका बुटवल लगिएको प्रहरीले जनाएको छ।

दुई सुरक्षाकर्मी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

उक्त घरबाट एउटा पेस्तोल, दुईवटा एसएमजीको गोली र गोलीगट्ठा एवम् “जनमुक्ति सेना नेपाल, आधारभूत सैन्य तालिम, शिविर २ नम्बर कम्पनी” लेखिएको ब्यानर भेटिएको दाबी प्रहरीको छ।

 

प्रधानाध्यापकको घर
उक्त घरबाट अर्को घरमा जान लाग्दा प्रहरीलाई कक्षा आठ सम्म मात्र पढाइ हुने स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूले रोकेको बताइन्छ।

घटनास्थल भएको क्षेत्र शिवराज नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चुरबहादुर खड्काका अनुसार उक्त विद्यालयका प्रधानाध्यापकको घरमा प्रहरी जान लागेपछि विद्यार्थीहरूले अवरोध गरेका थिए।

खड्काले भने, “आफ्नो शिक्षकको घरमा छापा मार्न खोजेपछि विद्यार्थीहरूले अवरोध गरेका हुन्। मैले प्रहरी र विद्यार्थी दुवै पक्षलाई सम्झाएपछि स्थिति शान्त भएको हो।”

यसअघि प्रहरीले छापा मारेको घरमूलीलाई उद्धृत गर्दै वडा अध्यक्ष खड्का भन्छन्, “प्रहरीले हामीलाई घरबाट बाहिर जान भनेपछि हामी बाहिर निस्केका हौँ। त्यसपछि हतियार भेटियो भने, तर हामीले हतियार देखेनौँ।”

अहिले त्यहाँको जनजीवन सामान्य रहेको बताइएको छ।

बिहानको उक्त घटनापछि प्रहरीले आफ्नो कारबाही भने जारी नै रहेको जनाएको छ।

के हो विप्लव नेतृत्वको नेकपा?
विसं २०६९ को असारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

पछि वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी “क्रान्तिकारी हुन नसकेको” भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दल विप्लव माओवादीका रूपमा चिनिन्छ।

उसले आफूलाई मूलधारको माओवादी पार्टी मान्ने गरेको छ र कुनै पनि निर्वाचनमा सहभागी भएको छैन।

वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरू कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र चन्दा भन्दै जबर्जस्ती आर्थिक सङ्कलन गर्ने काम गर्दै आएको छ।

‘निर्णायक क्रान्ति’ गर्ने भन्दै उसले सरकारी पक्षसँग वार्ता गर्न मानेको छैन।

पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ उनीहरूले ‘जनसरकार’ को घोषणा पनि गरेका छन्।

केही सयमयता सो दलले देशका विभिन्न स्थानमा भएका घटनाहरूको जिम्मेवारी लिँदै आएको छ।

केही हप्ताअघि ललितपुरमा भएको एउटा घटनामा एक व्यक्तिको मृत्यु भएको थियो।

Share Now

Leave a comment.