Prakash Adhikari March 7, 2019

 

बैंकक(थाइल्याण्ड)  २३ फाल्गुन। थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ । देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरुले बताएका छन् ।

पुर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन एक हप्ता बाँकी रहदाँ अदालतले सो पार्टी विघटनको फैसला गरेको हो । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।

संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ । थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो ।

उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उहाँलाई अयोग्य घोषणा गरेको हो । राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई अनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो ।

थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ । राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।

आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफु उम्मेदवार बन्ने बताउनुभएको थियो । यसरी राजपरिवारलाई विवादमा तानेको र गलत राजनीतिक चलखेल गरेको भन्दै रक्षा दाललाई निर्वाचनमा भाग लिन नपाउने गरी बन्देज लागेको छ ।

थाइल्याण्डमा यही मार्च २४ तारिखमा आम निर्वाचन हुन लागेको छ । अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरुलाई एक दशक सम्म राजनीतिमा प्रतिबन्द पनि लगाएको छ ।

(रासस/एएफपी)

Share Now

Leave a comment.