Prakash Adhikari March 11, 2019

 

काठमाडौं, २७ फागुन । आइतबार भएको इथोपियन एयरलाइन्स दुर्घटनामा नेपाली नागरिक एकता अधिकारीको निधन भएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् एकता केन्याको नैरोबी जान सो जहाजको यात्रामा थिइन् ।

गोर्खाकी एकता डब्ल्युएफपीको सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । उनी डिसेम्बरदेखि सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारीमा थिइन ।

बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी एकताले इथियोपिया, पपुआ न्यू गिनी, र नेपालमा ३ वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन् ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १ सय ४९ यात्रुसहित ८ जना चालक दलका सदस्य लिएर उडेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट आइतबार विहान ८ः३८ मा उडेको छ मिनेटपछि नै ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो । दुर्घटनामा ३६ देशका नागरिक परेको इथियोपियाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Share Now

Leave a comment.