Prakash Adhikari March 13, 2019

 

काठमाडौँ,२८ फागुन(रासस) । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए।

प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए ।

प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए। आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण व्यवसायी काममा परिचालन गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणका लागि रु २२ अर्ब लाग्ने लागत अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म रु दुई अर्ब ४० करोड मुआब्जा वितरण भइसकेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्नेछ । रु छ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले छ ।

चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो । मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए।

Share Now

Leave a comment.