आशा खबर डेक्स
काठमाडौं, ६ चैत्र । विदेशमा रहेका नेपालीहरुले आफ्नो धर्म र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने परम्परालाई कायम गर्दै यस बर्षको फागु पुर्णिमा अर्थात होलीलाई आआफ्नो कर्मस्थलमा धाूमधामसंग मनाएका छन् । विदेशमा रहदा काममा पनि संलग्न रहनुपर्ने भएकोले नेपालीहरुले पर्वलाई समेट्ने हप्ताको विदाको दिनमा उपयुक्त समय पारेर यस्ता पर्वहरु सामूाहिक रुपमा मनाउदै आएका छन् ।
यस बर्षको होली पर्व अष्ट्र्ेलिया र अमेरिकामा बस्ने नेपालीहरुले धूमधामसंग मनाएको खबर प्राप्त भएको छ ।
अमेरिकाको टेक्सासबाट प्राप्त समाचारमा त्यहाको ह्युस्टन शहरमा बस्ने नेपालीहरुले चैत्र ३ गते(मार्च १७)का दिन उल्लासपूर्वक फागु पूर्णिमा मनाए। हिमालयन कल्चरल सेन्टरको आयोजना र नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), एशोसियसन अफ नेपाली तराइएन इन अमेरिका (एन्ट), गुल्मी समाज ह्युस्टन, नेप्लिज हेरिटेज युनिएन, क्रिएटिभ नेप्लिज सोसाइटी सहितका संस्थाहरुको सक्रियतामा ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा आयोजित फागु मेलामा नेपालीहरुले नेपालमा जस्तै रमाइलो गरे ।
ह्युस्टन क्षेत्रमा बस्ने नेपालीहरुको सक्रियतामा गत बर्ष नेपालीहरुले पशुपतिनाथ मन्दिरको स्वामित्व लिएपछि नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को अग्रसरतामा अन्य नेपाली संस्थाहरुको सहयोगमा सामूहिक होली कार्यक्रम आयोजना गर्न थालिएको हो।
यस बर्षको होली पर्व मनाउन ह्युस्टन पशुपति क्षेत्र परिसरमा करिब २ सय जति नेपालीहरु जुुटेका थिए । गुल्मेली समाजले यसपटक फागुमा पञ्चे बाजाको रौनक थपेको थियो। पंजेबाजाको तालमा होलीको रंगसंगै सहभागीहरु छमछमी नाचेका थिए।
विदाको दिन पारेर आइतबार बिहान ११ बजेबाट शुरु भएको फागु उत्सवमा साना केटाकेटीदेखि युवा र बयस्कहरु सबैलाई रम्न दिने ढंगले आयोजकहरुले मेलाको व्यवस्था गरेका थिए ।
कार्यक्रममा साना केटाकेटीहरुका लागि बाउन्सी हाउस सहितको खेल्ने व्यवस्था गरिनुको साथै खुल्ला आर्ट प्रतियोगिता राखिएको थियो।
सहभागीहरुलाई एन्टाले ‘ह्याप्पी होली २०१९’ लेखिएको टिसर्ट उपलब्ध गरेको थियो भने गुल्मी समाजले चिसो पेय र स्न्याक्स उपलब्ध गराएको थियो । दुवै संस्थाले बिक्रीबाट आएको रकम नेपाली मन्दिरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी स्थानीय आशियाना रेष्टुरेण्टले खानेकुराको प्रवन्ध मिलाएको थियो। आशियानाले पनि बिक्रीको सबै मुनाफा पशुपति मन्दिरलाई दिने निर्णय गरेको छ।
स्थानीय कार बिक्रेता स्टर्लिंग म्याककल टोयोटाले फागु कार्क्रमलाई मुख्य प्रायोजन गरेको थियो।
अस्ट्रेलियामा एन्टाको सकियो,कमेरोको शनिवार
यता अस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले १० औं वार्षिकोत्सवका चैत्र २ गते शनिवार भव्य रूपमा होली पर्व मनाएको छ।
‘एन्टाले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा ‘होली हंगामा नामक साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । यो कार्यक्रम सिड्नीमा रहेका नेपालीहरुको लागि हर्षोंल्लासका साथ रंगमा रमेर शुभकामना आदानप्रदान गर्ने उत्सव सिद्ध भयो।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो। साथसाथै स्थानीय कलाकारहरूको वेजोड प्रस्तुति रहेको थियो।
नेपालबाट रमेशराज भट्टराई, डोली सरकार र सुनील पण्डितजस्ता होलीका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रम नेपाली, मैथिली, भोजपुरी र अंग्रेजीमा सञ्चालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी र नेपाली भाषामा गीत संगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सव भएकोले विदेशमा आएर पनि रङको पर्वमा रंगीन पाउँदा हर्षित भएको बताए।
कार्यक्रमको प्रमुख अतिथि न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्का हुनुहुन्थो ।
कार्यक्रममा एन्टाका उपाध्यक्ष रञ्जित शाहले स्वागत मन्तव्य गर्दै हिमाल, पहाड,तराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सव आयोजना गरेको बताउनुभयो ।
कार्यक्रमको मुख्य प्रायोजक युनिकटर्न एजुकेशन एन्ड माइग्रेशन रहेको थियो । कार्यक्रममा अस्ट्रेलियामा रहेका सबैखाले संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कमेरो इभेन्टले शनिवार अर्को कार्यक्रम गर्ने
कमेरो इभेन्ट्सले यही आउँदो शनिबार रक डेलको बाइसेन्टेनियल पार्कमा रक डेल होली महोत्सवको आयोजना गर्ने भएको छ।
रक डेल ब्वाइज र क्यानभास इभेन्ट्सको सहयोगमा आयोजना हुने सो होली महोत्सवमा विपुल क्षेत्री र उनको ब्यान्डको विशेष प्रस्तुति रहनेछ। एक्सपर्ट एजुकेशन मुख्य प्रायोजक रहेको रक डेल होली महोत्सवमा स्थानीय ब्यान्डको विशेष प्रस्तुति रहने रक डेल ब्वाइजका शीतल खाँंडले बताउनुभएको छ।
महोत्सवमा स्थानीय नृत्यांगना रेमिना गिरीको विशेष प्रस्तुति रहने छ।
नेपाली चाडसँंगै नेपाली खानाको समेत प्रबन्ध गरिने महोत्सवमा करिब १० हजार दर्शकको अपेक्षा गरिएको आयोजकले जनाएका छन्। कार्यक्रम दिउँंसो १ बजेदेखि राति आठ बजेसम्म चल्नेछ।
‘होली सबै नेपालीको साझा पर्व बनेको र केही वर्षदेखि कमेरो इभेन्ट्सले सिड्नीमा नियमित होली महोत्सव आयोजना गरेर कला संस्कृतिको जर्गेना गर्ने प्रयास गरिरहेको छ’, रक डेल ब्याइजका अध्यक्ष खाँंडले भन्नुभयो।