Prakash Adhikari March 21, 2019

कुवेत सिटी(कुवेत), ७ चैत्र । आज नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतको राष्ट्रिय फुटबल टोलीसंग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली फुटबल टोली हाल कुवेतको नियन्त्रणामा दुई मैत्रीपूर्ण फुटबल खेलमा सहभागी बन्न कुवेत सिटीमा छ । नेपालले आफ्नो पहिलो खेल बिहीबार अल–शबाब स्र्पोट्स स्टेडियममा खेल्दैछ भने दोस्रो खेल २५ मार्चका दिन खेल्ने तय भएको छ ।

बुधबार आयोजित प्रि–म्याच कन्फिरेन्समा बोल्दै नेपाली राष्टिय टीमका प्रशिक्षक योहान कालिनले कुवेत विरुद्ध जित हात पार्दै आफ्नो करियरको शुरुवात गर्ने बताएका छन् । करियर कै पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षकको भूमिकामा उत्रिन लागेका स्वीडिस प्रशिक्षक कालिनले भने, “यो हाम्रो लागी निकै महत्वपूर्ण सिरिज हो । नेपाली फुटबलले लामो यात्रा तय गर्नुछ । कुवेत त्यो यात्राको पहिलो खुड्किलो हो । हामी निश्चित जितका लागि खेल्नेछौं ।”

फिफा वरियतामा कुवेत हाल १ सय ५८ औं स्थानमा रहेको छ भने नेपाल तीन स्थान तल १ सय ६१ औं स्थानमा रहेको छ । उता कुवेतका प्रशिक्षक रोमियो जोजाकले नेपाल विरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक जोजाकले भने, “कुवेती फुटबल फेरि आफ्नो लयमा फर्किदैछ । नेपाल विरुद्धको दुवै खेल हाम्रो लागि महत्वपूर्ण छन् । हामीले तयारीका लागि प्रर्याप्त समय पाएनौं । तर हामी जित हात पार्नेमा विश्वस्त छौं ।”

आन्तरिक विवाद र फिफाको हस्तक्षेपका कारण कुवेतको अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता शून्य थियो ।

फिफाले सन् २०१७ को डिसेम्बरमा कुवेतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

Share Now

Leave a comment.