Prakash Adhikari March 26, 2019

 

पेरिस(फ्रान्स),१२ चैत्र (बीबीसी) । चीनले विमान निर्माण गर्ने कम्पनी एअरबससँग तीन सयवटा जेट किन्ने सहमति गरेको छ। ती  विमानको मूल्य अर्बौँ अमेरिकी डलर पर्नेछ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्यारिस भ्रमणका बेला दुई पक्षबीच ए३२० र ए३५० एक्सडब्ल्यूबी विमान खरिदबारे एउटा सम्झौतामा हस्ताक्षर भएको हो।

Image result for A350-xWB

सीले आफ्नो युरोप भ्रमणमा अरू सहमति पनि गरेका छन्।

इन्डोनेशिया र इथियोपियामा भएका दुर्घटनापछि एअरबसको प्रतिस्पर्धी बोइङद्वारा निर्मित ७३७ म्याक्स शृङ्खलाका जेट विमानलाई विश्वभरि नै उडानबाट हटाइएको केही हप्तामै यो सहमति भएको हो।

चीनको नागरिक उड्डयन प्रशासनले ‘बोइङ ७३७ म्याक्स ८’ विमान उड्नासाथ दुईवटा दुर्घटनाहरू भएका र तिनमा केही समानता भएको टिप्पणी गर्दै आफ्ना वायुसेवा कम्पनीहरूलाई ती विमान नचलाउन निर्देशन दिएको थियो।

चीनले किन्न लागेको विमानहरूको कुल मूल्य तीन खर्ब ४० अर्ब डलर पर्ने विवरणहरू प्रकाशित भएका छन्।

एअरबस कमर्शिएल एअरक्राफ्टका अध्यक्ष गीयोम फोरीले एउटा विज्ञप्तिमा चीनको नागरिक उड्डयनलाई सघाउन आफ्ना ‘सिङ्गल आइल’ र ‘वाइडबडी’ विमान उपलब्ध गराउन पाउनु सम्मानको विषय भएको उल्लेख गरेका छन्।

फोरी एप्रिलमा एअरबसका प्रमुख कार्यकारी बन्दैछन्।

सी र माक्रोँ
एअरबससँग भएको सम्झौता बोइङलाई ठूलो चुनौती हुन सक्छ।

पाँच महिनामा उही मोडलका दुईवटा विमान दुर्घटनामा परेपछि बोइङ दबावमा परेको छ। उसले के कारणले दुर्घटना भएको हो भनेर अनुसन्धान गर्न थालेको छ।

सीले गत हप्ता इटलीबाट युरोप भ्रमण थालेका थिए।

इटलीले चीनको महत्त्वाकाङ्क्षी योजना ‘बेल्ट एन्ड रोड इनिशिअटिभ’ मा सहमति प्रदान गरेको छ।

तर अरू युरोपेली देश र संयुक्त राज्य अमेरिकाले चीनको बढ्दो प्रभावप्रति चासो व्यक्त गरेका छन्।

चिनियाँ योजनाालाई औपचारिक रूपमै समर्थन गर्ने इटली पहिलो युरोपेली देश हो।

सी रोममा हुँदा दुई देशबीच झन्डै दुई खर्ब ८० अर्ब डलर बराबरका विभिन्न २९ वटा सहमति भएका थिए।

सो योजनालाई चीन र युरोप जोड्ने नयाँ रेसम मार्गका रूपमा अर्थ्याउने गरिएको छ।

Share Now

Leave a comment.