Prakash Adhikari March 29, 2019

रोम(इटाली),१५ चैत्र (बीबीसी) । चिनियाँ राष्ट्रपति सी जीनपिङको इटाली भ्रमणका क्रममा दुई मुलुकबीच २.८ अर्ब अमेरिकी डलर बराबरको २९ वटा सम्झौतामा हस्ताक्षर भए।

युरोपेली राष्ट्र इटाली चीनको महत्त्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ अभियानमा सहभागी हुने पहिलो विकसित अर्थतन्त्र बनेको छ। जसले उक्त मुलुकप्रति पश्चिमा सहयोगी राष्ट्रहरूमाझ संशय उत्पन्न गराएको छ।

चिनियाँ राष्ट्रपति सी जीनपिङको इटाली भ्रमणका क्रममा दुई मुलुकबीच २.८ अर्ब अमेरिकी डलर बराबरको २९ वटा सम्झौतामा हस्ताक्षर भए।

उक्त परियोजनाहरूलाई नयाँ रेसमी मार्गका रूपमा हेरिएको छ जसले चीनलाई युरोपसँग जोड्ने आशा गरिएको छ।

चीनको बढ्दो प्रभावबारे युरोपेली संघ र अमेरिकाले चासो व्यक्त गरेका छन्।

चिनियाँ अभियान के हो?

नयाँ रेसम मार्गको अर्को नाम ‘बेल्ट एन्ड रोड’ हो र यसको उद्देश्य भनेको भौगोलिकरूपमा टाढा रहेका स्थानमा कम समयमा चिनियाँ सरसामान पुर्‍याउने हो, जसका लागि उसले विश्वव्यापीरूपमा पूर्वाधार परियोजनामा लगानी गर्दैछ।

आलोचकहरूले यसलाई भू-राजनीतिक र रणनीतिक प्रभावको प्रतिनिधित्वको रूपमा समेत हेर्ने गरेका छन्।

‘बेल्ट एन्ड रोड अभियान’ अन्तर्गत चिनियाँ ब्याङ्कहरूले सडक, रेल र बन्दरगाह जस्ता परियोजनामा लगानी गरिसकेको छन् जसमा चिनियाँ निर्माण कम्पनीहरूलाई अनुबन्ध गरिन्छ।

दक्षिण एसिया र अफ्रिकी मुलुकले चीनलाई तिर्नुपर्ने ऋण यति धेरै भइसक्यो कि यसले ती देशका नागरिक र पश्चिमा मुलुकमाझ चिन्ता बढाएको छ।

तर जुन सडक र रेल पूर्वाधार बनेका छन् ती चिनियाँ परियोजना विना बन्न सम्भव हुने थिएन।

▪ युगान्डामा चिनियाँ लगानीमा ५० किलोमिटर लामो सडक बनेको छ जसले विमानस्थलसँग जोड्ने काम गरेको छ।

▪ तान्जानियामा एउटा सानो तटीय सहर उक्त महादेशकै सबेभन्दा ठूलो बन्दरगाह बन्न सक्ने सम्भावना रहेको छ।

▪ ग्रिसमा वर्षौँसम्म आर्थिक सङ्कट रहिरहेपछि युरोपमा समेत चिनियाँ कम्पनीहरूले प्रभुत्व जमाउन थाले। सन् २०१६ मा चिनियाँ कम्पनीहरू एथेन्स नजिकैको पाइरिअस बन्दरगाह सञ्चालन गर्ने कम्पनीको ५१ प्रतिशत सेयर खरिद गर्न सफल भएका थिए।

नयाँ रेसम मार्ग
आलोचकहरूले ‘बेल्ट एन्ड रोड’ अभियानलाई भू-राजनीतिक र रणनीतिक प्रभावको प्रतिनिधित्वको रूपमा समेत हेर्ने गरेका छन्
कुन कुन परियोजनामा सहमति भयो?

चीनसँगको सहमतिमा इटालीका तर्फबाट उप प्रधानमन्त्री लुइजि डी मेवोले रेसम मार्ग र समुद्री रेसम मार्ग सम्झौताको आशय पत्रमा हस्ताक्षर गरेका थिए।

त्यस लगत्तै ऊर्जा, अर्थतन्त्र र कृषि जस्ता क्षेत्रमा मन्त्रीस्तरीय सम्झौतामा हस्ताक्षर भयो।

इटालीका ठूला ऊर्जा र इन्जिनियरिङ कम्पनी लगायतका प्रमुखहरूले उनीहरूको कम्पनीलाई चिनियाँ बजारमा प्रवेश दिलाउने खाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सहमतिमा इटालीका लागि के छ?

ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेन सदस्य मध्ये चीनले प्रस्ताव गरेको रकम लिने पहिलो राष्ट्र इटाली हो।

इटाली विश्वको १० प्रमुख ठूला अर्थतन्त्र मध्येको एक हो।

अगष्टमा जेनोअ नदीको एउटा पुल भत्कँदा एक दर्जनभन्दा बढीको मृत्यु भएसँगै उक्त देशको जिर्ण पूर्वाधार पछिल्ला केही दशकमा पहिलो पटक राजनीतिक मुद्दा बन्न पुगेको छ।

र इटालीको अर्थतन्त्र समेत अस्थिर नै छ।

उक्त देश सन् २०१८ मा आर्थिक मन्दीमा परेको थियो र उसको ऋण युरोपमा पर्ने मुलुकहरू मध्ये निकै बढी छ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै डी मेवोले आफूहरूले चालेको कदम बारे युरोपेली राष्ट्रहरूले आलोचनात्मक दृष्टिकोण राखेको र त्यस्तो घारणा राख्न पाउनु उनीहरूको अधिकार रहेको बताएका छन्।

”हामी हाम्रा युरोपेली सहयात्रीहरूबाट टाढिन खोजेका छैनौँ। हामी दृढतापूर्वक युरो-एटलान्टिक गठबन्धनमा रहनेछौँ र नेटोमा अमेरिकाको पक्षमा उभिने छौँ,” डी मेवोले भने।

तर यस विषयमा इटालीको सरकारमा भने एकमत छैन।

गठबन्धनको अर्को साझेदारको प्रतिनिधित्व गर्दै उप-प्रधानमन्त्री बनेका मटेवो साल्भिनि कुनै पनि औपचारिक समारोहमा उपस्थित भएनन्।

उनले आफूले हालको जस्तो महत्त्वपूर्ण साझेदारी गर्नु पूर्व सय पटक सोच्ने प्रतिक्रिया दिएका छन्।

सहमतिमा चीनका लागि के छ?

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पिटर फाङ्कोपानका अनुसार इटालीको कदम धेरै हद सम्म ‘साङ्केतिक’ हो।

तर रोमले समेत ‘बेल्ट एन्ड रोड’ मा सामेल हुन उपयुक्त हुने बताउनु चीनका लागि ठूलो अर्थ राख्ने उनी बताउँछन्।

”यसले चिनियाँ योजनामा चमक थप्ने काम गर्छ र विश्वव्यापी रूपमा चीनको महत्त्वपूर्ण भूमिका छ भन्ने कुरा दर्शाउँछ,” उनले भने।

”इटालीको कदम युरोप र युरोपेली संघका लागि निकै संवेदनशील समयमा आएको छ जतिबेला चीन मात्र नभएर बदलिँदो विश्वलाई कसरी हेर्ने भन्ने विषय चिन्ताजनक बनेको छ,” फाङ्कोपानले बीबीसीलाई बताए।

उक्त विषयको अर्को पाटो समेत रहेको बताउँदै फाङ्कोपान भन्छन्, ”यदि बन्दरगाह र रेल लगायतका पूर्वाधार बनाउनका लागि चीनबाट लगानी नआए कहाँबाट आउँछ त?”

‘मेड इन इटाली’ लेखिएको सामान विश्वव्यापी रूपमै गुणस्तरको लागि चिनिन्छ।

र उक्त गुणस्तर चिन्ह मुख्यतः इटालीमा बनेका सामानमा मात्र प्रयोग गरिन्छ।

हालका केही वर्षमा इटालीमा खोलिएका चिनियाँ कारखानामा चिनियाँ कामदारको प्रयोग गर्दै बनाइएका सामानले भने गुणस्तर चिन्ह माथिको विश्वासलाई चुनौती दिएका छन्।

चीनबाट सस्तो कच्चा पदार्थ खरिद गर्ने र इटालीमा प्रशोधन गरेर बजार पुर्‍याउने परिपाटीले त्यस्तो अभ्यासलाई झन् बढावा दिन सक्छ।

Share Now

Leave a comment.