काठमाडौं,१८ चैत्र ।बारा र पर्सामा आईतबार आएको आँधीमा परेका पीडितहरुको उद्धार कार्य सकिएको घोषणा गर्दै सरकारले प्रभावितहरूको राहत, उपचार,पुनस्थापनाको बन्दोबस्तको कार्यको अल्पकालीन र दीर्घकालीन व्यवस्था गर्न गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजि क्षेत्र , सामाजिक तथा गैरसरकारी संस्थाहरूलाई समन्वयात्मक रूपमा परिचालन गरी विपत प्रभावितहरूको , राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई जिम्मेवारी दिएको हो।
सरकारले घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय पनि गरेको छ।
बैठकले घाइतेहरूको उपचारमा कुनै कमी कमजोरी हुन नदिने, घाइते भई अपांग तथा असक्त हुनेहरू तथा मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधी उपकरणसहितको थप स्वास्थ्यकर्मीहरूको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्को बैठकले विपत्बाट प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवाहरू सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्र र निकायले पूर्ण सर्तकता अपनाउने र त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपदबाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मुल्यांकन गर्ने तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनर्स्थापना तथा पुननिर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णयसमेत सोमबारको मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषदले मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ। त्यसै गरी प्रभावित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
मन्त्रिपरिषद्ले घटना लगत्तै उद्धार गर्ने, हेरविचार र राहत दिने र अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्ने, समाचार सम्प्रेषण गर्ने सुरक्षा निकाय तथा सुरक्षाकर्मी, प्रशासनिक संयन्त्र, कर्मचारी, सरकारी तथा नीजि अस्पतालका चिकित्सक, नर्स लगायतका स्वास्यकर्मी, रक्तदाता, संघीय तथा स्थानीय तहका प्रतिनिधि, नीजि क्षेत्रका संघ संस्था तथा प्रतिनिधि, संचारमाध्यम सम्पूर्ण निकाय तथा आम समुदायबाट भएको सहयोगका लागि सरकारले धन्यवाद दिएको छ।
मन्त्रिपरिषद्ले राहत, तत्काल पुनस्थापन र दीर्घकालीन बन्दोबस्तको काम प्रदेश सरकार लगायत सबै तहका निकायसँग समन्वयात्मक ढंगले गर्ने निर्णय गरेको छ।
आइतबार राती आएको आँधीबेहरीमा परेर बारा र पर्सामा गरि ३१ जनाको मृत्यु भएको थियो भने ६ सय १३ जना घाइते भएका थिए । यसबाट परेको आर्थिक क्षतिको पूर्ण विवरण भने आईसकेको छैन् ।


















