लण्डन(संयुक्त अधिराज्य),२१ चैत्र(बीबीसी) । ब्रिटेनको संसदको तल्लो सदनमा भएको मतदानमा युरोपेली संघ इयुबाट बाहिरिनका लागि इयुसँग थप समय माग्ने प्रस्ताव एक मतले पारित भएको छ।
अर्को साता इयुबाट हुनसक्ने ठानिएको सम्झौता बिनाको ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन्।
गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री टरिजा मेले विपक्षी लेवर नेता जेरेमी कोर्बिनसँग भेटेको पृष्ठभूमिमा उक्त मतदान भएको थियो।
सो प्रस्ताव लेबर पार्टीकै एक सांसदले गरेका थिए।
अबको प्रक्रिया
पारित भएको प्रस्ताव कानुन बन्नका लागि ब्रिटेनको माथिल्लो सदनबाट समेत पारित हुनुपर्छ।
इयुले यसका लागि स्वीकृति दिन्छ वा दिंदैन भन्ने चासो समेत उत्तिकै छ।
मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएको थियो।
कोर्बिनले चाहीं वार्ता ‘उपयोगी भएपनि अपुरो भएको’ प्रतिक्रिया दिएका थिए।
उक्त बैठककै कारण मेले आफ्नो कन्जरभेटिभ पार्टीका ब्रेक्जिट पक्षधरहरूबाट चर्को आलोचना सामना गर्नुपरेको छ। उनका दुई कनिष्ठ मन्त्रीहरूले राजिनामा समेत दिएका छन्।
अगाडिको बाटो
बिहीवार ब्रेक्जिट योजनामा सहमति खोज्नका लागि दुई पार्टीहरू दिनभर छलफल गर्दैछन्।
जसमा इयुले १० एप्रिलमा डाकेको आपत्कालिन बैठक अगावै सदनमा प्रस्तुत गर्नेगरी कुनै प्रस्ताव निकाल्नेबारे छलफल हुँदैछ।
ब्रेक्जिटका लागि अबको विकल्प के?
यदि त्यसमा सहमति ननिस्किए प्रधानमन्त्रीले थप केही विकल्पहरू दिने वाचा गरेकी छन्।
जसमा उनले इयुसँग छलफल गरेर तयार पारेको ब्रेक्जिट सम्झौता समेत हुनेछ जुन यसअघि तीनपटक अस्वीकृत भइसकेको छ।