नयाँदिल्ली(भारत) । इण्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण अन्तरगत नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आज सन राइजर्स हैदरबादसंग प्रतिस्पर्धा गर्दैछ ।
दिल्ली क्यापिटल्सको घरेलु मैदान फिरोज शाँ कोट्ला क्रिकेट मैदानमा राति ८ः१५ बजे खेल सुरु हुनेछ।
१२ औं संस्करणको सुरुका मुम्बई इण्डियन र चेन्नई सुपर किंग्ससंगको खेलमा मौका नपाएका सन्दीपले त्यसपछि कोलकोता नाईट राइडर्स र किंग्स् इलेभेन पञ्जाबविरुद्धको खेलमा भने मौका पाएका थिए ।
चेन्नई सुपर किंग्स्संगको खेलमा दिल्लीमा विकेट लिने खेलाडीको अभाव देखिएको थियो । सन्दीपलाई लिएको भए यो खेल उसले जित्न सक्ने संभावना पनि थियो ।
कोट्ला मैदानमा कोलकोता नाइट राइडर्स विरुद्धको खेलमा उनले १ विकेट लिएका थिए भने किंग्स इलेभेन पञ्जाब विरुद्धको खेलमा २ विकेट लिए ।
कोलकोता विरुद्धको खेलमा दिल्लीले विजय निकाले पनि ब्याट्सम्यानहरु सम्हालिन नसक्दा जितको ढोकामा पुगेर पञ्जाबविरुद्धको खेलको नतिजा दिल्लीले सुम्पियो ।
जारी १२ औं संस्करणमा आजको तेस्रो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । यसमा मौका पाएमा उनले एकै इनिड.मा दुई शतकको कीर्तिमान राखेका सन राइजर्स हैदराबादका ब्याट्सम्यान जोनी बेयरेस्टो र डेभिड वार्नरविरुद्ध खेल्न पाउनेछन् ।
उनीहरुको विकेट लिनु आईपीएलमा गर्वको विषय बन्न सक्छ । राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियमा हैदरावादमा रोयल च्यालेन्जर्स बैगलोरका विरुद्ध भएको खेलमा बेयरेस्टोले ५६ बलमा ११४ रन प्रहार गरेका थिए भने वार्नरले ५५ बलमा नटआउट १०० रन प्रहार गरेका थिए।
सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाएका सन्दीप आज टिममा परेमा उनले टी २० क्रिकेट विश्व बरियताको पहिलो नम्बर, एक दिवसीयको तेस्रो र टेष्टको ६७ औं स्थानमा रहेका अफगानिस्तानका बलर राशीद खाँनसँग टक्कर पनि लिन पाउनेछन् । रसिदले सन् २०१८ को आईपीएल सिजनमा २१ विकेट र २०१७ मा १७ विकेट लिएका थिए ।उनलाई सन राइजर्सले ९ करोड भारुमा अनुबन्ध गरेको छ ।
Indian Premier League
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
KXIP | 4 | 3 | 1 | 6 | 0.164 |
CSK | 4 | 3 | 1 | 6 | -0.084 |
SRH | 3 | 2 | 1 | 4 | 2.111 |
KKR | 3 | 2 | 1 | 4 | 0.555 |
DC | 4 | 2 | 2 | 4 | 0.215 |
MI | 4 | 2 | 2 | 4 | -0.087 |
RR | 4 | 1 | 3 | 2 | -0.333 |
RCB | 4 | 0 | 4 | 0 | -1.901 |
दिल्लीले हालसम्म ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ । अंक तालिकामा उसको स्थान पाँचौं छ ।
हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।
४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।